सधैँ विद्यालय जान गार्हो मान्ने र कक्षामा उपस्थित भएपनी ध्यान नदिने नविन आज उत्साहित हुदैँ आफुले बनाएको वैज्ञानिक उपकरण खुशिका साथ देखाउँदै छ । ‘आज के सिकाउनुहुन्छ मिस’ ! भन्दै कौतुहलता दर्शाउछ । आफु संगै बसेका मित्रहरुलाई ‘हल्ला नगर है अब क्लास’ हुन लागेको छ भनेर अनुशासन सम्झाँउ छ ।
यस्तै, कक्षा ४ मा अध्ययन गर्ने सुहानी विज्ञान प्रती आफ्नो निकै रुची भएको र नयाँ-नयाँ ज्ञान बटुल्ने ईच्छा भएकोले विज्ञान सम्बन्धी नौलो अभ्यास गर्न पाएकोमा निकै खुसी देखिन्छिन् । कक्षामा पनी उनको ध्यान र विषयवस्तु प्रती संलगनता तारिफ गर्न योग्य देखिन्छ ।
यस्तो दृष्य देखियो जन जागृति विद्यालय जगडोलमा। चेन्जिङ स्टोरिज नेपालले बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा ५ वटा विद्यालयमा भईरहेको ‘प्रोजेक्ट कार्यशाला’ मा आजकाल यस्तै कथाहरु सुन्न र देख्न पाईन्छ ।
प्राथमिक तहका बिद्यार्थीहरुलाई कम समयमा विज्ञानको प्रयोगात्मक शिक्षा दिई उनिहरुको पाठ्यक्रमलाई थप सहज र व्यवहारीक बनाउने उद्देश्यले ‘चेन्जिङ स्टोरिज नेपाल’ (Changing Stories Nepal) ले यस कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
बूढानीलकण्ठ नगरपालिकामा रहेका विभिन्न सामुदायिक विद्यालयमा ‘प्रोजेक्ट कार्यशाला’ कार्यक्रम सञ्चालन भईरहेको छ । नगरपालिकाको ५ सामुदायिक विद्यालयमा चेन्जिङ स्टोरिज नेपालको दक्ष प्रशिक्षकहरु बाट हप्ताको ३ दिन १:३० घन्टाको कक्षा सञ्चालन भईरहेको छ।
प्रोजेक्ट कार्यशाला अन्तर्गत विद्यार्थिहरुलाई विशेष गरी बिज्ञानको ४ विषयवस्तुहरुमा आधारित रहेर शिक्षा दिईरहेको कार्यक्रम संयोजक आमिन शाक्य बताँउछन् । जस मध्य ‘उर्जा’ (Energy) , वस्तु (Matter) , स्थानीय प्रविधि (Local Technology) , अन्तरिक्ष (SPACE) , बारे उन्नत तथा प्रयोगात्मक ज्ञान दिने प्रोजेक्टको लक्ष्य रहेको शाक्य जोड्छन् ।
प्रयोगात्मक सिकाई बाट कक्षा कोठामा रहेका विद्यार्थीहरुले विभिन्न किसिमका वैज्ञानीक उपकरणहरु को प्रोटोटाईप आफै बनाउन सक्ने गरी सक्षम बनाउन प्रशिक्षकहरुले प्रभावकारी कक्षा सञ्चालन गरिरहनु भएको छ ।
“व्यवहारीक जिवनमा प्रयोग हुने मोटर , बत्ति, फोहोरहरुलाई व्यवस्थित गरी पूनः चक्रबाट उर्जा निकाल्ने प्रविधि, अन्तरीक्ष सम्बन्धि भर्चुअल कक्षा, वैज्ञानिक तरिकाबाट ढिकी, जाँतो, पानी घट्ट जस्ता परम्परागत प्रविधिहरु चलाउने उपकरणका ज्ञानहरू कार्यक्रम अवधिभर सिकाईने छ”, प्रशिक्षक जेनिसा शाक्य बताउँछिन । प्रोजेक्टको अन्तिममा विद्यार्थीहरुले सिकेका र बनाएका उपकरणहरुको विशेष कार्यक्रम आयोजना गरी प्रदर्शनी गरिने जानकारी पनि दिनुभयो ।
चेन्जिङ स्टोरिज नेपालको प्रोजेक्ट कार्यशालाबाट विद्यार्थीहरु लाभान्वित भएका छन् ।
नौलो कार्यक्रम बाट विद्यार्थीहरुले विज्ञान सम्बन्धी नौलो तथा प्रयोगात्मक शिक्षा पाएकोमा आफ्नो क्षमता र ज्ञान अभिवृद्धि भएको जन जागृती विद्यालयकी छात्रा सुहानी तामाङ बताउँछिन। उनले निकै हर्षका साथ बूढानीलकण्ठ न्युज संग आफ्नो सिकाईको कथा सुनाउँदै आफुले बनाएको उपकरणको प्रोटोटाईप पनि देखाईन् ।
कार्यशाला प्रोजेक्ट वडा नं ११ जगडोल स्थित जन जागृति माध्यमिक विद्यालय, वडा नं ०५ डाँडागाँउमा रहेको बाल विकास आधारभुत विद्यालय, वडा नं १० साततल्ले स्थित पाथिभरा आधारभुत विद्यालय लगायत वडा नं ०४ मा रहेको श्री राम आधारभुत विद्यालय र मदन आश्रीत आधारभुत विद्यालयमा सञ्चालन भईरहेको छ ।
आधारभुत तहका ४ र ५ कक्षाका करिव १५० जना बिद्यार्थीहरुले यस प्रोजेक्ट बाट विज्ञान सम्बन्धी प्रयोगात्मक शिक्षा पाईरहेका छन् । चैत्र देखि सुरु भएको यस कार्यक्रम १ महिना सम्म सञ्चालन हुने छ ।