बूढानीलकण्ठ, भदौ ०६ गते ।
बूढानीलकण्ठ नगरपालिका नारायणस्थान स्थित रहेको वडा नं ०३ को कार्यालय चपलीमा रहेको कोसेली घरको भवनमा सरेको छ । बुधबार बिहान एक समारोह आयोजना गरी नगर प्रमुख मिठाराम अधिकारी र वडा अध्यक्ष आकाश धितालले कार्यालय उद्घाटन गर्नुभएको हो ।
वडाको आफ्नै प्रशासनिक भवन नहुँदा धेरै समय देखी नारायणस्थान पिपलबोट स्थित अस्थायी भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो ।
आस्थायी भाडाको घरमा संरचना अभाव भएको कारण दैनिक प्रशासनिक कार्यहरु सञ्चालन गर्न असहज भईरहेकोले कार्यालय सार्नु परेको वडा अध्यक्ष आकाश धितालले जानकारी दिनुभयो ।
वडाको आफ्नै भवन श्री बूढानीलकण्ठ मा.वि. अगाडि (पूरानो गा.वि.स. भवन) मा निर्माणाधीन स्थितिमा रहेको हुँदा भर्खरै निर्माण सम्पन्न भएको कोसेलि घरमा कार्यालय संचालनको लागी पर्याप्त संरचना, श्रोत र साधन भएकोले अस्थायी रुपमा कार्यालय सारिएको अध्यक्ष धितालले जोड्नुभयो ।
नगरपालिकामा उत्पादन भएका वस्तु जानकारी तथा बिक्री वितरण एकै स्थानबाट दिने उद्देश्यले चपलीको कोसेली घर निर्माण गरिएको हो ।
उहाँको अनुसार करिव १ बर्ष भित्र वडाको आफ्नै भवन निर्माण सम्पन्न भए पश्चात कार्यालय पूनः नारायाणस्थानमै सारिने छ ।
बुधबार भएको कार्यालय उद्घाटन कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, वडा अध्यक्ष आकाश धिताल, वडा सदस्य विकास तामाङ्, विक्रम श्रेष्ठ, बालमाया श्रेष्ठ, सुसिला रम्तेल, वडा सचिव मोहन भण्डारी लगायत वडा तथा नगरपालिकाका कर्मचारी र स्थानीयहरुको उपस्थिति रहेको थियो।