
बुढानीलकण्ठ, २०८२ वैशाख ७ – बुढानीलकण्ठ नगरपालिकाले नगर भित्रका भित्री सडकहरूमा सिसिटिभी जडानको काम सह-लगानी लागत साझेदारीमा अघि बढाउने भएको छ। नगरपालिकाको वार्षिक नगर विकास योजना अन्तर्गत चालु आर्थिक वर्ष ०८१/०८२ को मेयर सुरक्षित नगर (CCTV) कार्यक्रम अन्तर्गत उक्त कार्यान्वयनको प्रक्रिया सुरु गरिएको हो।
सिसिटिभी जडानको लागि नगर क्षेत्रका सम्बन्धित वडा अन्तर्गत रहेका उपभोक्ता समिति, टोल सुधार समिति, कोलोनी लगायतका संस्थाहरुलाई सहभागिताको लागि आह्वान गरिएको छ। इच्छुक समितिहरुले आवश्यक कागजात सहित सूचना प्रकाशित मितिबाट ७ (सात) दिनभित्र बुढानीलकण्ठ नगरपालिका, सूचना प्रविधि शाखामा सम्पर्क गर्नुपर्ने जनाइएको छ।
आवश्यक कागजातहरू:
१. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
२. समितिको निर्णयको प्रतिलिपि
३. पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि
नगरपालिकाले सहकार्यमा आधारित यस किसिमको कार्यक्रमले नगर क्षेत्रमा सुरक्षा व्यवस्थामा थप सुधार ल्याउने विश्वास व्यक्त गरेको छ। सार्वजनिक स्थानमा निगरानी सुदृढ गरी आपराधिक क्रियाकलाप नियन्त्रणमा ल्याउने उद्देश्यले कार्यक्रम कार्यान्वयन गरिँदैछ।
सिसिटिभी जडानका लागि सहकार्य गर्न इच्छुक सबै सरोकारवाला समूह तथा संस्थालाई समयमै आवश्यक कागजातसहित सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ।