
बुढानीलकण्ठ नगरपालिकाले २०८२ सालको नयाँ शैक्षिक सत्रका लागि तयार गरिएको शैक्षिक कार्यपात्रोअनुसार विद्यालयहरूमा नियमित पठनपाठन सुरु गर्न निर्देशन दिएको छ।
नगरपालिकाले मिति २०८२।१।४ गतेदेखि शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र प्रारम्भ गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मिति २०८२।१।२ मा बसेको नगर शिक्षा समितिको बैठकले सबै विद्यालयलाई निर्देशनसमेत दिएको थियो। तर, हालसम्म उक्त निर्देशनको पूर्ण पालना नभएको देखिएपछि नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।
संस्थागत विद्यालयहरूले भर्ना प्रक्रिया र पठनपाठन नियमित रूपमा सञ्चालन गरिरहेको अवस्थामा सामुदायिक विद्यालयहरूले भने शैक्षिक गतिविधिहरू सञ्चालन गर्न नसक्दा नगरपालिकाले अघि बढाएको शैक्षिक सुधार, विकास तथा उन्नयनका कार्यक्रमहरूमा अवरोध उत्पन्न भएको जनाइएको छ। यसले बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक हकमा प्रत्यक्ष असर परेको भन्दै नगरपालिकाले चिन्ता व्यक्त गरेको छ।
विद्यार्थीको संवैधानिक हकलाई कुण्ठित हुन नदिन, नगर कार्यपालिकाको मिति २०८२।१।१० मा बसेको ६४औं बैठकले मिति २०८२।१।११ देखि सम्पूर्ण विद्यालयहरू सुचारु रूपमा सञ्चालन गर्न र नियमित पठनपाठनको सम्पूर्ण प्रबन्ध गर्न निर्देशन दिएको छ।
नगरपालिकाले सबै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा सम्बन्धित निकायलाई उक्त निर्णयको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आह्वान गरेको छ।