
बूढानीलकण्ठ नगरपालिका काठमाडौं जिल्लामा अवस्थित प्रसिद्द धार्मिक तीर्थस्थलले परिचित नगरपालिका हो । यो नगरपालिका काठमाडौं देखि उत्तरतर्फ शिवपुरी डाँडाको काखमा अवस्थित छ । यही देवस्थलको स्थानलाई बूढानीलकण्ठ पनी भनिन्छ ।
पौराणिक कथन अनुसार समुद्र मन्थन गर्दा बहुमूल्य रत्नहरू र अमृतसमेत उपलब्ध हुँदा भयङ्कर कालकूट विष अगाडि पर्न आएकोले देवता र असुरहरूबीच कोलाहल मच्चियो र भगवान् शिवले कोलाहललाई साम्य पार्न उक्त विष पान गर्नुभयो तर उक्त विष निल्न उपयुक्त नभएकोले आफ्नो घाँटिमा अड्काएर राख्न्नुभयो । विषको प्रभावले शिवको घाँटि निलो भयो र किंवदन्ती अनुसार त्यसैले उहाँलाई नीलकण्ठ भनियो । बूढा शब्द आदरार्थी वाचक भएकोले पुजनीय अर्थमा विभूषित गर्न नीलकण्ठको अगाडि बूढा शब्द राखिएको भन्ने हिन्दू धर्मावलम्बीहरूको मान्यता छ। तर यो प्रस्तर मूर्ति भगवान विष्णुको हो भन्ने विश्वास गरिन्छ किन भने मूर्ति, चतुर्भुज भगवान नारायण कै प्रतित हुन्छ।
भगवानका चारहातमध्ये तीन हातमा शङ्ख, चक्र र गदा रहेको छन् भने चौथो हातमा कमलको फूल हुनुपर्नेमा अलिकति फरक विभूति खरानीको डल्ला जस्तो रहेको देखिन्छ। भगवान् नीलकण्ठको प्रस्तुत शेषशायी पोखरी परिसरमा अन्य देवीदेवताका मूर्तिहरू एवं शिवलिङ्गहरूका साथै सत्तल, पाटीहरूका साथ यज्ञशाला, होम कुण्डहरू पनि छन्। भगवानको दर्शन पूजन गर्नाले धन धान्यादिले परिपूर्ण हुनुका साथै स्त्री पुत्रबाट सुख सन्तोष भई अन्तमा नारायण गति प्राप्त हुन्छ भन्ने नेपाल महात्म्य, हिमवत्खण्डमा उल्लेख गरिएको छ।
भगवान बूढानीलकण्ठको मूर्ति निकै पुरानो हो तर यो कुन समयमा, कसले बनाएका हुन् सो कुराको कसैलाई ज्ञान छैन ।
किम्बदन्ती अनुसार एक जना किसानले आफ्नो खेत खन्दा उक्त मूर्तिको खुट्टाको औँलामा चोट लाग्न गई रगत समेत देखिएकोले पछि सो स्थानमा उत्खनन् गरी हेर्दा उक्त विशाल मूर्ति भेटिएको थियो । देवमाला वंशावलीमा उल्लेख भए अनुसार राजा ऋषभदेवले बूढानीलकण्ठको स्थापना गरेका हुन् भन्ने कुरा उल्लेख छ तर उनले उत्खनन् गरी जमीनमुनीबाट वा कुनै सिल्पद्वारा बनाउन लगाई प्रतिष्ठित के गरेका हुन् स्पष्ट लेखिएको छैन । विक्रम संवत ३९८ मा राजा मानदेव प्रथमले धेरै शिवलिङ्गहरुको स्थापना गरे भन्ने छ तर नीलकण्ठबारे केहीँ उल्लेख छैन ।
राजा प्रताप मल्लले बूढानीलकण्ठको उक्त भव्य मूर्तीलाई त्याहाँबाट हनुमानढोका दरबार लगी चोकमा राख्न एवं प्रतिस्थापन गर्न चाहन्थे । त्यतिकैमा राजालाई सपनामा यो मूर्ती यहाँबाट कहीँ नलग्नु, स्थानान्तरण नगर्नु र तिमी र तिम्रा उत्तराधिकारीहरुले यो मूर्तीको दर्शन पनी नगर्नु, गरेमा अनिष्ठ हुनेछ भन्ने किम्बदन्ती छ । यसैले उनले हनुमानढोका दरबार परिसरमा बूढानीलकण्ठको प्रतिमूर्ती बनाउन लगाए र सो मूर्ती आजसम्म हनुमानढोका दरबार परिसरमा रहेको छ । त्यसै बेलादेखि नेपालमा गद्दीनसीन राजालाई बूढानीलकण्ठको दर्शन वर्जित रहेको थियो ।
वर्तमान समयमा पनि बूढानीलकण्ठ भगवानको नित्य पूजारीहरुबाट स्नान, श्रृङ्गारको साथै श्रीखण्ड, चन्दन, केशरी, जौ, तिल, अक्षता, फूल, दुबो चढाई धूप, दीप, नैवेद्य, प्रसादमा मनभोग, मालपुवासमेत मिष्ठान्नको पूजा गर्छन् । दैनिक साँझ आरती हुन्छ र पूजाका लागि गुठीको व्यवस्थापनसमेत गरिएको छ । यस पवित्र तीर्थस्थलमा श्राचण महिनाभरका सोमबारहरू, कार्त्तिक शुक्लद्वादशी र बैशाख महिनाभर मेला लाग्ने चलन छ ।