
बुढानीलकण्ठ नगरपालिका, चैत २८ – बुढानीलकण्ठ नगरपालिकाका मेयर तथा उपमेयरले एस.ई.ई. (माध्यमिक शिक्षा परीक्षा) को तयारीमा रहेका विद्यार्थीहरूसँग भेटघाट गर्दै उनीहरूलाई हौसला प्रदान गरेका छन्। शिक्षा महाशाखाको समन्वयमा मेयर मिठाराम अधिकारी र उपमेयर अनिता लामाले नगरपालिका क्षेत्रभित्रका विभिन्न सामुदायिक विद्यालयमै पुगेर विद्यार्थीहरूलाई सकारात्मक ऊर्जा र प्रेरणा दिएका हुन्।
मेयर मिठाराम अधिकारीले विद्यार्थीहरूलाई सम्बोधन गर्दै भने, “तपाईंहरू जीवनको एक महत्वपूर्ण मोडमा हुनुहुन्छ। यो परीक्षा मात्रै होइन, यसले तपाईंहरूको भविष्यको मार्ग प्रशस्त गर्छ। म तपाईंहरू सबैलाई सफलता प्राप्त गर्न शुभकामना दिन चाहन्छु। मेहनत र लगनशीलता नै सफलताको कुञ्जी हो।” उहाँले सन्दर्भ जोड्दै नगरपालिले एस.ई.ई. मा ४ जि.पि.ए. हाँसिल गर्ने विद्यार्थीलाई नगद रु. १ लाख र विद्यालयलाई नगद रु. ५ लाखले सम्मान गर्ने जानकारी दिनुभयो ।
त्यसैगरी, उपमेयर अनिता लामाले पनि विद्यार्थीहरूसँग संवाद गर्दै भन्नुभयो, “यो परीक्षा तपाईंहरूको क्षमता परीक्षण गर्ने एउटा अवसर हो। डराउनु पर्ने कुनै कारण छैन। तयारी राम्रोसंग गर्नुहोस् र आत्मविश्वासका साथ परिक्षा दिनुहोस्। बुढानीलकण्ठ नगरपालिका सदैव तपाईंहरूको साथमा छ।”
नगरपालिकाले विद्यार्थीहरूलाई परीक्षा पछिको समयलाई प्रभावकारी बनाउन पनि योजना बनाएको छ। मेयरले यस क्रममा घोषणा गर्दै भने, “परीक्षा सकिएपछि बुढानीलकण्ठ नगरपालिकाले योग्य विद्यार्थीहरूलाई ईन्टर्नशिपको अवसर उपलब्ध गराउनेछ। नगरपालिकासँग आवद्ध कार्यालयहरूमा ईन्टर्नशिपको व्यवस्था हुनेछ, जसले विद्यार्थीहरूलाई व्यावहारिक अनुभव प्राप्त गर्न मद्दत पुर्याउनेछ। यो अवसरले तपाईंहरूलाई कामकाजी जीवनको तयारी गराउन सहयोग गर्नेछ।”
एसईई तयारीमा रहेका विद्यार्थीहरूले नगरपालिकाको यस्तो पहलको प्रशंसा गरेका छन्। यो कदमले विद्यार्थीहरूलाई थप उत्साहित बनाउनुका साथै उनीहरूको भविष्यका लागि व्यावहारिक अनुभव प्राप्त गर्ने महत्वपूर्ण अवसर पनि प्रदान गर्ने अपेक्षा गरिएको छ।
बुढानीलकण्ठ नगरपालिकाले यसरी शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न ठोस कदम चालेको छ।