
बुढानीलकण्ठ, काठमाडौं – बुढानीलकण्ठ जनस्वास्थ्य महाशाखाको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भएको छ, जसमा “संवेदनशील मुटु स्वास्थ्य सुरक्ष प्रवर्द्धन” अभियानलाई प्राथमिकतामा राखिएको थियो। नगरपालिका सभाहलमा भएको कार्यक्रम फागुन १९ र २० गते दुई दिन संचालन भएको थियो ।
यस विशेष कार्यक्रमको मुख्य आकर्षण नेपालका प्रख्यात मुटु विशेषज्ञ डा. भगवान कोईरालाले विशेष सत्र संचालन गर्नु रहेको थियो। डा. कोईरालाले मुटु स्वास्थ्यको महत्त्व, रोकथामका उपायहरू, स्वस्थ जीवनशैली अपनाउने तरिकाहरू तथा मुटुसँग सम्बन्धित रोगहरूको प्रारम्भिक चिन्हहरू बारे जानकारी दिएका थिए।
उक्त कार्यक्रममा विभिन्न उमेर समूहका नागरिकहरू, स्वास्थ्यकर्मीहरू तथा स्थानीय जनप्रतिनिधिहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। कार्यक्रमको उद्देश्य स्थानीय बासिन्दाहरूलाई मुटुसम्बन्धी स्वास्थ्य सुरक्षाका उपायहरूको बारेमा सचेत गराउनु रहेको थियो।
डा. भगवान कोईरालाले मुटु स्वास्थ्यलाई उपेक्षा गर्दा उत्पन्न हुने जटिलताबारे चेतावनी दिएका छन् र स्वस्थ आहार, नियमित व्यायाम, तनाव व्यवस्थापन, र धूम्रपान/मद्यपानबाट टाढा रहनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले यो कार्यक्रमलाई दीर्घकालीन रूपमा चलाउन सके मुटुरोगबाट जोगिन महत्त्वपूर्ण हुने बताएका थिए।
बुढानीलकण्ठ जनस्वास्थ्य महाशाखाका प्रमुखले आगामी दिनमा यस प्रकारका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउन र स्थानीय समुदायमा व्यापक जागरूकता फैलाउन निरन्तर पहल गरिने आश्वासन दिएका छन्।
कार्यक्रमले समुदायमा मुटु स्वास्थ्यप्रति नयाँ चेतना जगाउने अपेक्षा गरिएको छ।