
बुढानीलकण्ठ नगरपालिका, काठमाडौँ — श्रमिक वर्गको व्यवस्थापन र अधिकार सुरक्षित गर्न बुढानीलकण्ठ नगरपालिकाले श्रमिक सुचिकृत लगत संकलन अभियान अन्तर्गत विवरण संकलन गरिएका श्रमिकहरुलाई परिचय पत्र वितरण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम २०८१ फागुन १९ गते नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो।
यस अभियान अन्तर्गत, श्रमिकहरुको विवरण संकलनमा नेपाल महिला एकता समाजले सहकार्य गर्दै श्रमिकहरुलाई लगत संकलनको प्रक्रियामा समावेश गराउन महत्वपूर्ण योगदान दिएको थियो। एक महिना लामो अवधिमा नगरवासीहरुले नगरपालिकाको अभियानमा सक्रिय रुपमा सहभागिता जनाउँदै आफ्नो विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रमको उद्देश्य नगरपालिकामा कार्यरत श्रमिकहरुको दर्ता, व्यवस्थित व्यवस्थापन तथा श्रमिक हकहित संरक्षण गर्न तथा उनीहरुको औपचारिक परिचय सुनिश्चित गराउनु रहेको थियो। कार्यक्रम मार्फत १ हजार भन्दा बढी श्रमिकहरुलाई परिचय पत्र वितरण गरियो। यस परिचय पत्रले श्रमिकहरुलाई नगरपालिकासँग जोड्न मात्र नभइ उनीहरुका कानूनी अधिकारको संरक्षणमा सहयोग पुर्याउने विश्वास नगरपालिकाले लिएको छ।
नगरप्रमुख मिठाराम अधिकारीले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भने, “श्रमिक वर्ग हाम्रै समुदायका आधार हुन्, उनीहरुको श्रमलाई सम्मान गर्ने हाम्रो प्रमुख दायित्व हो। परिचय पत्रको माध्यमबाट उनीहरु नगरपालिकाको श्रमिक सूचीमा सुचिकृत हुनेछन् जसले उनीहरुको सेवामा पहुँच र हक अधिकार सुनिश्चित गर्नेछ।”
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले मन्तव्य व्यक्त गर्दै, श्रमिकहरु नगरपालिका विकासको मेरुदण्ड रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “नगरपालिकाले श्रमिकहरुको हकहितका लागि सदैव अग्रसर रहँदै आएको छ। यो परिचय पत्र वितरण कार्यक्रमले श्रमिकहरुको अधिकार सुनिश्चित गर्न र तिनीहरुलाई न्यायसंगत सुविधा पुर्याउन थप सहयोग गर्नेछ।” उहाँले नगरवासीहरु तथा महिला एकता समाजप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले कार्यक्रममा मन्तव्य राख्दै भने, “यो अभियान नगरपालिकाले श्रमिकको पहिचान र सुरक्षाका लागि चालेको महत्त्वपूर्ण कदम हो। श्रमिकहरुमाथि हुने विभिन्न समस्याहरु समाधान गर्न र उनीहरुको हक हित सुनिश्चित गर्न, परिचय पत्र वितरणले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु। नगरपालिकाले श्रमिक वर्गको जीवनस्तर सुधार्न विभिन्न योजनाहरु ल्याउँदै छ र यो पहिलो पाइला मात्र हो।”
प्रवक्ताले थपे, “श्रमिक परिचय पत्रले उनीहरुलाई रोजगारको क्षेत्रमा अधिकार प्राप्तिमा सहयोग पुर्याउनेछ। यसैगरी, नगरपालिकाले श्रमिकका लागि स्वास्थ्य, शिक्षा र अन्य सामाजिक सुरक्षा कार्यक्रममा पनि सहकार्य गर्न योजना बनाएको छ।”
परिचय पत्र वितरणसँगै श्रमिकहरुलाई उनीहरुको काम सम्बन्धी कानूनी हक, सुविधा र सुरक्षाका बारेमा जानकारी दिन अभिमुखीकरण कार्यक्रम पनि गरिएको थियो। यस क्रममा श्रमिक सुरक्षा, बीमा, श्रम ऐन तथा सामाजिक सुरक्षासम्बन्धी विविध जानकारी प्रदान गरियो। यसबाट श्रमिकहरुले आफ्ना अधिकार र जिम्मेवारी बारे थप जानकारी पाउने विश्वास लिइएको छ।
श्रमिक संगठनका प्रतिनिधिहरुले पनि यस कार्यक्रमको स्वागत गर्दै नगरपालिकाको पहललाई महत्वपूर्ण मान्यता दिएका छन्। उनीहरुले भविष्यमा थप योजनाबद्ध कार्य योजना तथा श्रमिक मैत्री नीतिहरुको खाँचो औंल्याएका छन्।
सोहि कार्यक्रम मार्फत सहकार्यमा रहेको नेपाल एकता महिला समाज र विवरण संकलनमा नगरपालिकाबाट खटिनुभएका स्वयंसेवकहरुलाई प्रमाण पत्र र मायाको चिनो सहित सम्मान पनि गरिएको थियो ।
बुढानीलकण्ठ नगरपालिकाले यस अभियानलाई निरन्तरता दिने र आगामी दिनमा नगरका अन्य श्रमिकहरुलाई पनि सुचिकृत गर्ने योजनामा रहेको छ।