सार्वजनिक अपिल !!!
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ अनुसार वडा समितिको काम, कर्तव्य र अधिकार अन्तर्गत उपदफा २ (घ) मा खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामाग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने व्यवस्था रहेको छ । ऐनको दफा १६ को उपदफा ४ (ख) मा उपप्रमुखको काम, कर्तव्य र अधिकार उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने व्यवस्था रहेको छ । ऐनमा नगरपालिका क्षेत्रभित्र रहेका सबै प्रकारका व्यवसायहरु दर्ता एवं सूचीकरण हुनुपर्ने स्पष्ट व्यवस्था रहेको छ ।
यस नगरपालिकाको बजार अनुगमन निर्देशिका, २०७५ मा उल्लेख भएका उपभोक्ता हकहित संरक्षण एवम् बजार अनुगमन सम्बन्धी व्यवस्था कार्यान्वयन गरी आफ्नो व्यापार व्यवसायलाई मर्यादित एवं व्यवसायिक रुपमा सञ्चालन गर्न तपसिलका विषयमा ध्यान दिनुहुन सार्वजनिक अपिल गरिन्छ ।
१. आफूले सञ्चालन गरेको व्यवसाय अनिवार्य रुपमा दर्ता तथा नवीकरण गरी दण्ड जरिवानाबाट बचौँ
२. आफूले सञ्चालन गरेको व्यवसाय / पसल दर्ताको प्रमाण सबैले देखिने स्थानमा राखौँ । साथै व्यवसाय परिसर नियमित
सरसफाई गरौँ ।
३. किराना, खाद्यान्न, माछामासु, फलफुल, तरकारी, मिठाई व्यवसायहरुले अनिवार्य रुपमा सबैले देख्ने ठाउँमा मूल्यसूची राखौँ।
४. मेडिकल, नर्सिङ होम, क्लिनिक तथा औषधी पसल इजाजतपत्र लिएर मात्र सञ्चालन गरौँ । नेपाल सरकारले निषेध गरेका तथा आधिकारिक प्रेस्क्रिप्सन बाहेकका औषधी बिक्री वितरण नगरौँ ।
५. खाद्यान्न सामग्री, स्वास्थ्य सम्बन्धी औषधीहरु म्याद बाँकी भए/नभएको अनिवार्य जाँच गरी म्याद नाघेका सामग्रीहरुलाई छुट्टै स्थानमा व्यवस्थापन गरौँ ।
६. सडेगलेका माछामासु, फलफुल, तरकारी तथा मिठाईहरु बिक्री वितरण नगरौं । सडेगलेका सामग्रीहरु व्यवसाय
स्थलबाट अलग्गै राखी नष्ट गरौँ ।
७. माछामासु, मिठाई तथा पाकेका सामग्रीहरु खुला रुपमा नराखौँ । सफा कपडा तथा जालीले छोपेर मात्र राख्ने गरौं।
८. अनुज्ञा पत्र लिई खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गर्न स्वीकृत लिएका र स्वीकृत स्टिकर लागेका सामग्रीहरु मात्र बिक्री वितरण गरौँ ।
९. आफ्नो पसलमा खाद्य र अखाद्य सामग्री छुट्टाछुट्टै राखी बिक्री वितरण गरौं । मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्री वितरणका लागि सम्बन्धित निकायमा दर्ता भई स्वीकृति लिएर मात्र विक्री वितरण गरौँ ।
१०. नेपालको प्रचलित कानूनले इजाजतपत्र लिएर मात्र पेशा / व्यवसाय सञ्चालन गर्न पाउने भनी तोकेका वस्तुहरुको उत्पादन तथा बिक्री वितरण गर्नुपूर्व अनिवार्य रुपमा सम्बन्धित निकायबाट इजाजतपत्र / अनुमति लिने गरौं ।
हामीले तिरेको कर हाम्रै नगर विकासको लागि खर्च हुने हुँदा “स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बूढानीलकण्ठ” को नारालाई मूर्त रुप दिन आफूले तिर्नुपर्ने कर अनिवार्य रुपमा तिरी यस नगरपालिकालाई साँच्चै “आहा बूढानीलकण्ठ” बनाउने अभियानमा सहयोग गरौँ ।
बूढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालय
हात्तीगौँडा, काठमाडौँ
बूढानीलकण्ठ
नगरपालिका