
पर्यटकिय नगरपालिकाको रुपमा परिचित बूढानीलकण्ठमा आर्थिक विकासको मुख्य सम्भावना पर्यटन क्षेत्रमा रहेकाे छ। विभिन्न धार्मिक, प्राकृतिक तथा सांस्कृतिक पर्यटन क्षेत्रहरु समेटिएको यस नगरपालिकाको पर्यटन विकास मध्यमबाट यहाँको आर्थिक विकास क्षेत्रमा योगदान पुर्याउन सक्ने सम्भावनाहरु नगरपालिकाले महसुस गरेको छ।
नगरपालिका भित्र ऐेतिहासिक, पौेराणिक, पुरातात्वित महत्व भएका बूढानीलकण्ठ मन्दिर, बागद्वार, विष्णुद्वार, नौलिङेश्वर, धरमपुर, रुद्रेश्वर महादेव मन्दिर, कपन गुम्बा, जामचेन विजया स्तुपा, जस्ता मुर्त तथा अमुर्त सम्पदाहरुले नगरपालिकाको पर्यटकिय रौनकलाई योगदान दिदैँ आएको छ। यस संगै नगरमा नेवाः संस्कृतिको क्षेत्र चुनिखेल, वासिकु, टनगाँऊ, धरमपुर, तामाङ संस्कृतिको वस्ति तौलुङ, चिसेनी, पेन्देल गाँउ, विभिन्न स्तरका तारे होटल, रिसोर्ट, लगायत शिवपुरी राष्ट्रिय निकुञ्ज जस्ता महत्वपुर्ण गन्तव्य स्थलहरू सौन्दर्यताले भरिपूर्ण छ।
पर्यटकिय क्षेत्रको हिसावले नगरपालिका भरिपूर्ण भएतापनि यस ठाँऊको पर्यटन व्यवस्थापन, प्रवर्धन र संरक्षणमा भने केहि समस्या र कमी कम्जोरीहरु अझै देखिन्छ।
पर्यटन विकासमा भईरहेका यस्ता समस्याहरुलाई वृस्तित अध्ययन गरी यथावत सम्भावनाहरुलाई ध्यानमा राखेर नगरपालिकाले पर्यटन विकासको गुरु योजना निर्माण गरि कार्यान्वयनमा ल्याएको छ। नगरपालिकाले पर्यटन विकास र प्रवर्धनको लागी प्रथम आवधिक नगर विकास योजना (२०७७/०७८ – २०८१/०८२) अन्तर्गत पर्यटन विकासमा ५ वर्षको अवधीमा गरिने विभिन्न कार्यक्रम तथा क्रियाकलापहरूको कार्यान्वयनको लागि ६२,१०,३२,०००/- रुपैँया बजेट अनुमान गरेको छ।
बूढानीलकण्ठमा पर्यटन क्षेत्रमा प्रवल सम्भावनाहरु रहेकोले स्थानीय सरकार स्थापना भए देखीनै नगरपालिकाले ” स्वच्छ, शान्त र पर्यटकिय नगर बूढानीलकण्ठ” को नारालाई प्रचार गर्दै आएको थियो।
प्रथम आवधिक नगर विकास योजना अन्तर्गत नगरपालिकामा रहेका विभिन्न पर्यटकिय स्थलहरुको स्तरोन्नतिको लागि चिसेनीमा संस्कृति संरक्षण संग्रहालय निर्माण गर्ने , तौलुङ चेतारा, पञचकन्या मंदिर, रुद्रेश्वर मंदिर, महांकाल मंदिर, धरमपुर जस्ता सार्वजनिक स्थलहरुमा इको पार्क निर्माण गर्ने लगायत विभिन्न प्रभावकारी योजनाहरु तयार भएका छन्।
नगरपालिका भित्र रहेको शिवपुरी राष्ट्रिय निकुञ्ज तथा सार्वजनिक वनमा साईक्लिङ रुट, हाईकिङ रुट निर्माण तथा स्तरोन्नति गर्ने र आवश्यक स्थलहरुमा साहासिक पर्यटनको लागि पुर्वाधार निर्माण गर्ने योजना तयार भएकाे छ।
पर्यावरणीय पर्यटनलाई विशेष प्राथमिकतामा राखि नगरको विभिन्न वडामा ईको पार्क निर्माणको काम सुरु भईसकेको छ। वडा नं ०२ को कालिका पार्क निर्माण भए संगै वडा नं ०६ मा च्यासिनडोल आधुनिक पार्क, वडा ०८ मा जगन्नाथ पार्क, जगडोलको झण्डा पार्क, वडा नं ०५ मा चिसेनी पार्क लगायत विभिन्न साना तथा ठूला पार्कहरु निर्माणाधिन अवस्थामा छन्।
नगरपालिकाले पर्यटन व्यवसायको कार्यबिधि तयार गरी युवा, महिला तथा पर्यटन व्यवसायिहरुलाई क्षमता अभिवृद्दि र आयमुलक उद्यमशीलता तालिमको व्यस्थापन गर्दै आएको छ। पर्यटनबाट उद्दयमशिल विकासको लागि नगरको पेन्देल गाँउ, चिसेनि गाँउ लगायत कपन क्षेत्रहरुमा उदाहरणिय ‘होमस्टे’हरु समेत सञ्चालनमा आएको छ।