सुशासन र न्यायिक क्षमता सुदृढीकरणका लागि अन्तरपालिका अन्तरक्रिया सम्पन्न
बुढानीलकण्ठ नगरपालिकाले सुशासन, प्रभावकारी सेवा प्रवाह, न्याय सम्पादन तथा विकास व्यवस्थापनका असल अभ्यास आदान–प्रदान गर्ने उद्देश्यले नुवाकोट र रसुवा जिल्लाका चार गाउँपालिकासँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको न्यायिक समितिद्वारा आयोजित उक्त कार्यक्रममा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका र रसुवा जिल्लाका गोसाईकुण्ड, उत्तरगया तथा आमाछोदिङ्मो गाउँपालिका सहभागी भएका थिए। स्थानीय सरकार सञ्चालनका विविध पक्षमा उपलब्धि, चुनौती र सफल अभ्यासबारे विस्तृत छलफल भएको थियो।
न्याय, सेवा र पारदर्शिता : छलफलका मुख्य विषय
कार्यक्रमअन्तर्गत न्याय सम्पादन, मेलमिलाप प्रणाली, सेवा प्रवाह, विकास निर्माण, सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक सहभागितालगायत विषयमा गहन अनुभव साझेदारी भएको थियो।बुढानीलकण्ठ नगरपालिकाले न्यायिक समितिमार्फत विवाद समाधान तथा मेलमिलाप प्रणाली प्रभावकारी बनाउने अभ्यास, नागरिकलाई प्रदान गरिएको निःशुल्क कानुनी परामर्श सेवा, दलित उद्यमशीलता प्रवर्द्धन, पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारात्मक पहल र रोजगारी सिर्जनासम्बन्धी अनुभव प्रस्तुत गरेका थिए। सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखेर सञ्चालित कार्यक्रम तथा कार्यविधिबारे पनि विस्तृत जानकारी दिइएको थियो।
पहाडी गाउँपालिकाका अनुभव : भूगोलदेखि संस्कृतिसम्म
सहभागी गाउँपालिकाहरूले पनि आ–आफ्ना प्रशासनिक तथा न्यायिक अभ्यास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भाषा, संस्कृति, पेशा–व्यवसाय, भौगोलिक अवस्था तथा स्थानीय जीवनशैलीका विविध पक्षबारे जानकारी साझा गरेका थिए। उच्च हिमाली भूगोलमा स्थानीय सरकार सञ्चालनका व्यावहारिक चुनौती र तिनका समाधानका उपायबारे भएको छलफलले सबैका लागि नयाँ दृष्टिकोण प्रदान गरेको थियो।
नगर प्रमुख मिठाराम अधिकारीले यस्ता कार्यक्रमले स्थानीय तहहरूबीचको सहकार्य, समन्वय र अनुभव साझेदारीलाई थप मजबुत बनाएको बताएका थिए। असल अभ्यासको आदान–प्रदानले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी र जनमुखी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका थिए।
उपप्रमुख तथा न्यायिक समिति संयोजक अनिता लामाले यस्ता कार्यक्रमले अन्तरपालिका सम्बन्ध सुदृढ बनाउनुका साथै स्थानीय तहहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। ज्ञान, सीप र अनुभवको आदान–प्रदानले सामाजिक, आर्थिक, शैक्षिक तथा संस्थागत विकासमा सकारात्मक योगदान पुग्ने उनले बताएका थिए।कार्यक्रममा नगर प्रमुख अधिकारी, उपप्रमुख लामा, न्यायिक समिति सदस्यहरू सावित्री ढकाल (भट्टराई) र विकास तामाङ, कानुनी सल्लाहकार अधिवक्ता पुण्यप्रसाद काफ्ले तथा कानुनी सहजकर्ता अधिवक्ता एलिजा अधिकारीसहितको टोली सहभागी रहेको थियो। स्थानीय सरकारहरूबीच सहकार्य, समन्वय र सिकाइको संस्कृति प्रवर्द्धन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालित उक्त कार्यक्रमलाई सहभागीहरूले उपलब्धिमूलक र अनुकरणीय अभ्यासका रूपमा मूल्यांकन गरेका छन्।









