काठमाडौँ। बुढानीलकण्ठ नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न रोजगारमूलक तथा सीपमूलक तालिमहरूको एकमुष्ट समापन तथा प्रमाणपत्र वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ । नगरभित्रका नागरिकहरूलाई स्वरोजगार बनाउने र स्थानीय अर्थतन्त्रलाई बलियो पार्ने उद्देश्यका साथ आयोजित यी तालिमहरूका सहभागीहरूलाई एक विशेष समारोहका बीच प्रमाणपत्र वितरण गरिएको हो ।
तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम नगरपालिकाकी उप-प्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उप-प्रमुख लामाले सीप नै आत्मनिर्भरताको मुख्य आधार भएको बताउदै तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतारेर उद्यमी बन्न सहभागीहरूलाई आग्रह गरेका थिइन । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले स्थानीय स्तरमा उपलब्ध साधन र स्रोतको उपयोग गर्दै प्रविधिसँग जोडिनु आजको आवश्यकता रहेको उल्लेख गरेका थिए ।
नगरपालिकाको यस आर्थिक वर्षको बजेट तथा कार्यक्रम अन्तर्गत विभिन्न विधामा लक्षित वर्ग केन्द्रित तालिमहरू सञ्चालन गरिएका थिए । जस अन्तर्गत स्थानीय पहिचान र परम्परागत सीप प्रवर्द्धनका लागि ‘अल्लो बजार प्रा. लि.’ को प्राविधिक सहयोगमा १ महिने अल्लो कपडा बुनाई सम्बन्धी सीपमूलक तालिम प्रदान गरिएको थियो । त्यसैगरी, ‘जनअधिकार सरोकार महासङ्घ नेपाल’ को व्यवस्थापनमा उन हस्तकला सम्बन्धी सीपमूलक तालिम र आधुनिक प्रविधिको मागलाई सम्बोधन गर्न ‘इनभिजन एनालिटिक्स प्रा. लि.’ को समन्वयमा ७ दिने एआई (AI) बूटक्याम्प तथा डिजिटल मार्केटिंग तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
तालिम अवधिभर प्रशिक्षार्थीहरूको उत्साह र कार्यप्रगतिको मूल्याङ्कन गर्न नगर प्रमुख मिठाराम अधिकारी र उप-प्रमुख अनिता लामा सहितको टोलीले विभिन्न तालिम केन्द्रहरूमा पुगेर स्थलगत अनुगमन समेत गरेको थियो । अनुगमनका क्रममा नगर प्रमुख अधिकारीले सहभागीहरूको लगनशीलताको प्रशंसा गर्दै उत्पादित सामग्रीहरूको बजारीकरणमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
यस संयुक्त तालिम अभियानबाट ठुलो सङ्ख्यामा स्थानीय महिला, युवा तथा लक्षित वर्गले प्रत्यक्ष लाभ लिएका छन् । तालिम पश्चात् सहभागीहरूमा नयाँ ऊर्जा र उत्साह थपिएको देखिन्छ । डिजिटल मार्केटिंग र एआई तालिमका सहभागीहरूले अब आफ्ना उत्पादनलाई अनलाइन मार्फत देश-विदेशमा प्रवर्द्धन गर्न सक्ने आत्मविश्वास बटुलेका छन् भने हस्तकला र अल्लो बुनाईतर्फका सहभागीहरूले समूह बनाएरै व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरेका छन् । समारोहमा प्रमाणपत्र ग्रहण गर्दै सहभागीहरूले नगरपालिकाले घरदैलोमै यस्ता उपयोगी तालिम ल्याइदिएकोमा खुसी व्यक्त गरे । परम्परागत सीप र आधुनिक प्रविधिको यो समिश्रणले आफूहरूलाई समाजमा आर्थिक रूपमा सबल र स्वावलम्बी बन्न ठुलो प्रेरणा (सहभागीहरूको प्रेरणा) मिलेको उनीहरूको भनाइ थियो ।






