बुढानीलकण्ठ नगरपालिकाको नगर सभाको १५औँ अधिवेशनको तेस्रो बैठक नगरपालिकाको सभाहल, हात्तीगौँडामा सम्पन्न भएको छ। नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा सञ्चालित उक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट अनुमान, विनियोजन विधेयक र आर्थिक विधेयकसहित नगरपालिकाको समग्र आर्थिक अवस्थाका महत्वपूर्ण विषयमा विस्तृत छलफल भएको थियो। बैठकको शुभारम्भ राष्ट्रिय गानबाट भएको थियो।बैठकमा प्रजातन्त्र र लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि सभाध्यक्षद्वारा नगर सभाको तेस्रो बैठक आधिकारिक रूपमा प्रारम्भ भएको घोषणा गरिएको थियो। लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको प्रतिबद्धता झल्किने यस परम्पराले बैठकलाई गरिमामय बनाएको थियो।

बैठकमा नगर प्रवक्ता नवराज भट्टराईले आ.व. ०८२/०८३ को आर्थिक सर्वेक्षणको संक्षिप्त विवरण सभा समक्ष प्रस्तुत गरेका थिए। उक्त विवरणले नगरपालिकाको राजस्व संकलन, खर्च व्यवस्थापन र विकास निर्माणका क्षेत्रमा भएका उपलब्धिको समग्र चित्र प्रस्तुत गरेको थियो। त्यसैगरी बैठकमा नगरपालिकाको विनियोजन विधेयक २०८३ र आर्थिक विधेयक २०८३ औपचारिक रूपमा पेश गरिएको थियो। विनियोजन विधेयकमार्फत आगामी आर्थिक वर्षमा विभिन्न शीर्षकमा गरिने बजेट विनियोजनको प्रस्ताव सभा समक्ष राखिएको थियो भने आर्थिक विधेयकमार्फत राजस्व, कर तथा दस्तुरसम्बन्धी व्यवस्थाहरू प्रस्तुत गरिएका थिए। यी दुवै विधेयक नगरपालिकाको आगामी आर्थिक नीति र योजनाको आधार बन्ने भएकाले सभा सदस्यहरूले यसमा विशेष चासो देखाएका थिए।

बैठकमा नगरपालिकाको आ.व. २०८१/०८३ को वास्तविक आय व्ययको विवरण सभा समक्ष प्रस्तुत गरिएको थियो। यसका साथै आ.व. ०८३/०८४ को प्रस्तावित आय व्ययको अनुमानित विवरण पनि राखिएको थियो। उक्त विवरणले नगरपालिकाको भावी आर्थिक योजना र प्राथमिकताका क्षेत्रहरूको स्पष्ट रूपरेखा प्रस्तुत गरेको थियो।

बैठकमा नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले कार्यसूची प्रस्तुतकर्ताका रूपमा मुख्य भूमिका निर्वाह गरेका थिए। अन्तमा अधिवेशनको चौथो बैठक बस्ने मिति तय गरी बैठक स्थगन गरिएको घोषणा नगर प्रमुख अधिकारीले गरेका थिए। नगर सभाका सदस्यहरूले उक्त बैठकलाई नगरपालिकाको आर्थिक पारदर्शिता र सुशासनको दिशामा एक महत्वपूर्ण कदमका रूपमा मूल्यांकन गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय