बूढानीलकण्ठ, भाद्र २७ गते ।
बूढानीलकण्ठ नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता प्रदान गरेको छ ।
नगरपालिकाको जनस्वास्थ्य महाशाखाको समन्वयमा सुत्केरीहरुको घरमै गई नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा द्वारा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप रकम ३००० उपलब्ध गराईएको हो ।
आर्थिक स्थितिले कमजोर वडा नं ११ लसुनटारमा बस्ने १८ बर्षिया सानुमाया तामाङ, वडा नं १२ खरिबोट बस्ने २१ बर्षिय नेहा शेर्पा र वडा नं ०८ सुन्दरवस्ति वस्ने अनिता भट्टले उक्त प्रोत्साहन भत्ता पाएका छन् ।
महिला सुत्केरी हुँदा पोषणको कमीले विभिन्न सङ्क्रामक रोग देखा पर्न सक्ने जोखिमका कारण पोषिलो खानेकुरा खानका लागि सुत्केरी भत्ता उपलब्ध गरिएको नगर उपप्रमुख अनिता लामाले बताउनुभयो । सुत्केरीलाई फलफूल, दूध, दही, माछा मासु, गेडागुडी उपभोग गराई स्वस्थ बनाउनका लागि पोषण भत्ता उपलव्ध गराउने व्यवस्था गरिएको उहाँले भन्नुभयो ।
अस्पताल वा स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिए आमा र शिशु सुरक्षित हुने र दुई सन्तान मात्रै जन्माए परिवार सुखी हुने भएकाले यस्तो नियम बनाइएको छ । “दुई छाक खाना जुटाउन नसक्ने परिवारका सुत्केरी हुने महिलाले भत्ताको रकमले पोषणयुक्त खाना उपभोग गरी बच्चालाई समेत स्वस्थ राख्ने हुँदा वृहत छलफल गरी भत्ता दिने निर्णय गरिएको नगर प्रमुख मिठाराम अधीकारीले जानकारी दिनुभयो ।
सुत्केरी पोषण भत्ता कसरी लिन सकिन्छ ?
सुत्केरी भएको ३० दिनभित्र शिशुको जन्म भएको अस्पताल वा स्वास्थ्य चौकीको प्रमाणसहित वडा कार्यालयमा नाम दर्ता गराएपछि मात्रै पाइने सो भत्ता लिन शिशु स्वास्थ्य चौकीमा जन्मिएको हुनुपर्ने, चार पटक स्वास्थ्य चौकीमा गर्भ जाँच गराउनुपर्ने र स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै शिशुको जन्म भए महिला स्वयंसेविका र जनप्रतिनिधिको सिफारिस चाहिने नियम बनाइएको छ । दुई सन्तान जन्माउने आमालाई मात्रै भत्ता वापतको रकम दिइन्छ ।