बुढानीलकण्ठ, २४ जेठ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ को आयोजना तथा आदरशिला युवा क्लबको सहकार्यमा सञ्चालित ‘चौथो वडा अध्यक्ष कप २०८३’ भव्य रूपमा सम्पन्न भएको छ । स्थानीय खेल प्रतिभाको पहिचान र युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताको पहिलो दिन वडा नं. ११ का वडा अध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यमा औपचारिक उद्घाटन गरिएको थियो । उद्घाटन सत्रमा बोल्दै वडा अध्यक्ष अधिकारीले वडाको विकाससँगै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको र आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धताका साथ खेलाडीहरूलाई शुभकामना दिएका थिए।
प्रतियोगिताको दोस्रो दिन विभिन्न विधाका खेलहरू उत्साहजनक रूपमा अगाडि बढेका थिए । बास्केटबलतर्फ दीक्षालय नेपाल फाउन्डेसन प्रथम, साम्तेन मेमोरियल एजुकेसनल एकेडेमी दोस्रो र माउन्ट कैलाश बोर्डिङ सेकेन्डरी स्कुल तेस्रो हुन सफल भएका थिए । त्यस्तै, चेस र फुटसलका प्रारम्भिक तथा सेमिफाइनलका खेलहरूले प्रतियोगिताको रौनक थप बढाएका थिए । तेस्रो दिन आज (आइतबार) एक विशेष समारोहका बीच प्रतियोगिताका सम्पूर्ण फाइनल खेलहरू सम्पन्न भई समापन गरिएको छ । समापन कार्यक्रम बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रवक्ता नवराज भट्टराई, वडा नं. ११ का वडा अध्यक्ष राजु अधिकारी र आदरशिला युवा क्लबका अध्यक्ष सुजन लामा लगायत स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा भद्रभलाद्मीहरूको गरिमामय उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरूले विजेता तथा उपविजेता खेलाडी र विद्यालयहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगिताको मुख्य आकर्षण बनेको फुटसलतर्फ दीक्षालय नेपाल फाउन्डेसनले प्रथम स्थान हासिल गर्दै उपाधि चुम्न सफल भएको छ । फाइनलमा कडा प्रतिस्पर्धा गरेको साम्तेन मेमोरियल एजुकेसनल एकेडेमी दोस्रो र ज्ञान प्रकाश स्कुल तेस्रो भए । फुटसल विधाभरिकै उत्कृष्ट खेल प्रदर्शन गर्दै ज्ञान प्रकाश स्कुलका आशिष खड्का ‘हाईएस्ट स्कोरर’ (सर्वाधिक गोलकर्ता) घोषित भए भने उत्कृष्ट बचाउ गर्दै दीक्षालय नेपाल फाउन्डेसनका आयुष बुढाथोकी ‘बेस्ट किपर’ (उत्कृष्ट गोलरक्षक) चुनिए ।
यसैगरी, ब्याडमिन्टनतर्फ ब्वाइज सिंगल्समा दीक्षालय नेपाल फाउन्डेसनका समन अधिकारी प्रथम हुन सफल भए । गर्ल्स ब्याडमिन्टनतर्फ श्री ग्राम शिक्षा मन्दिर सेकेन्डरी स्कुलकी रुक्शा लिम्बुले प्रथम स्थान हासिल गरिन् । बुद्धिचाल (चेस) विधातर्फ न्यु मिलेनियम एकेडेमीले आफ्नो वर्चस्व कायम राख्दै ब्वाइज र गर्ल्स दुवैमा जित निकाले । ब्वाइज चेसमा न्यु मिलेनियमका गौरांश थाइबा र गर्ल्स चेसमा सोही एकेडेमीकी गौरविका थाइबा प्रथम हुन सफल भए । खेलकुदको माध्यमबाट वडा र नगरकै प्रतिष्ठा बढाउन यस्ता प्रतियोगिताले जगको काम गर्ने समापनका अवसरमा बोल्ने वडा र नगरका नेतृत्वले बताएका छन् ।





