बुढानिलकण्ठ नगरपालिकाको पशु विकास शाखा र कृषि विकास शाखाले संयुक्त रूपमा नगर क्षेत्रभित्रका पशु तथा कृषि फार्महरूको अनुगमन गरेका छन्। नगरपालिकाकी उप प्रमुख अनिता लामाको नेतृत्वमा सम्पन्न यस अनुगमन कार्यक्रममा साना पशु फार्म, ठूला पशु फार्म र कृषि फार्म गरी जम्मा ६ वटा फार्म निरीक्षण गरिएको थियो।
अनुगमन टोलीले नगर क्षेत्रभित्र सञ्चालित २ वटा साना पशु फार्म र ३ वटा ठूला पशु फार्मको अवस्था प्रत्यक्ष रूपमा अवलोकन गरेका थियो। यसका साथै कृषि फार्ममा पनि निरीक्षण गरी त्यहाँको उत्पादन अवस्था, व्यवस्थापन र भौतिक पूर्वाधारबारे जानकारी लिइएको थियो।
उप प्रमुख लामाले अनुगमनका क्रममा फार्म सञ्चालकहरूसँग प्रत्यक्ष संवाद गरे र उनीहरूले भोग्नुपरेका समस्याहरू बारे जानकारी लिइन्। नगरपालिकाले फार्म व्यवसायलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन आवश्यक सहयोग र प्राविधिक सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ।
नगरपालिकाका पशु विकास तथा कृषि विकास शाखाका प्रतिनिधिहरूले यस अनुगमनबाट प्राप्त तथ्यांक र अवलोकनका आधारमा आवश्यक नीतिगत सुधार र सहयोग कार्यक्रम तयार पारिने बताए। नगर क्षेत्रमा कृषि तथा पशुपालन व्यवसायलाई प्रोत्साहन गर्दै स्थानीय उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ यस्तो अनुगमन नियमित रूपमा सञ्चालन गरिने नगरपालिकाका अधिकारीहरूले जानकारी दिए।





