बुढानीलकण्ठ नगरपालिकाले स्थापना गरेको बुढानीलकण्ठ सांस्कृतिक प्रतिष्ठानको पहिलो औपचारिक कार्यक्रमका रूपमा २०८३ जेठ २९ गते शुक्रबार बिहान हातीगौँडास्थित नगरसभा हलमा “स्रष्टा सम्मान समारोह” भव्यताका साथ सम्पन्न भएको थियो। बिहान ८:३० चलेको यस ऐतिहासिक समारोहमा कला, साहित्य र संस्कृतिका क्षेत्रमा दशकौंदेखि निरन्तर योगदान पुर्याउँदै आएका एक राष्ट्रिय र तीन स्थानीय स्रष्टालाई नगद पुरस्कारसहित विधिवत् सम्मानित गराएका थिए। वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, पर्यटन बोर्ड, क्षेत्र विकास समिति तथा नगर युवा परिषदका पदाधिकारीहरु लगायत विभिन्न महाशाखा र शाखा प्रमुखहरु बडो संख्यामा उपस्थित रहँदै कार्यक्रमलाई गरिमामय बनाएका थिए।
समारोहमा प्रमुख अतिथिका रूपमा साहित्यकार तथा विद्वान प्रा.डा. अभि सुवेदी उपस्थित रहेका थिए भने नगर प्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले विशिष्ट अतिथिको आसन ग्रहण गरेका थिए। कार्यक्रमको सभापतित्व सांस्कृतिक प्रतिष्ठानका कुलपति मल्ल के. सुन्दरले गर्दै समारोहलाई मर्यादित ढंगले अगाडि बढाएका थिए भने सञ्चालनको जिम्मेवारी सदस्य सचिव राज कुमार थापाले सम्हालेका थिए। दीप प्रज्वलनबाट कार्यक्रमको औपचारिक शुभारम्भ गराएका प्रमुख अतिथि प्रा.डा. सुवेदीले सांस्कृतिक प्रतिष्ठानको स्थापनालाई बुढानीलकण्ठ क्षेत्रको सांस्कृतिक चेतनाको नयाँ अध्यायका रूपमा व्याख्या गर्दै स्रष्टाहरुको सम्मान गर्ने यो पहललाई अत्यन्त सराहनीय बताएका थिए।
राष्ट्रिय स्तरका चित्रकलाकर्मी हरिप्रसाद शर्मा (मैजुबहाल, चावहिल, काठमाडौं), स्थानीय स्तरका गीतकार नरप्रसाद घिताल (वडा नं. ३), नाट्यकलाकर्मी न्हुच्छे श्रेष्ठ (वडा नं. ६) र साहित्यकार बिना थिङ (वडा नं. १) गरी चार जना स्रष्टालाई प्रमुख तथा विशिष्ट अतिथिहरुको हातबाट नगद पुरस्कारसहित सम्मानित गराएका थिए। सम्मानित स्रष्टाहरुको परिचय प्रतिष्ठानका सदस्य राजु तुलाधरले विस्तृत रूपमा गराउँदै प्रत्येक स्रष्टाको जीवन र सृजनायात्राको झलक उपस्थित दर्शकसमक्ष राखेका थिए।
स्वागत मन्तव्यमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. लेख प्रसाद निरौलाले बुढानीलकण्ठ सांस्कृतिक प्रतिष्ठानको उद्देश्य र भावी कार्यदिशाबारे प्रकाश पार्दै स्थानीय कला तथा साहित्यका स्रष्टाहरुलाई नियमित रूपमा पहिचान दिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए। सम्मानित स्रष्टाहरुको तर्फबाट पनि भावनात्मक मन्तव्य राखिएको थियो, जसमा उनीहरुले आफ्नो सृजनकर्मलाई यस सम्मानले नयाँ ऊर्जा र प्रेरणा दिएको बताउँदै नगरपालिका र प्रतिष्ठानप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए। नगर उपप्रमुख अनिता लामाले आफ्नो मन्तव्यमा सांस्कृतिक विविधतालाई नगरपालिकाको पहिचानका रूपमा स्थापित गर्दै जाने संकल्प व्यक्त गरेकी थिइन् भने नगर प्रमुख मिठाराम अधिकारीले स्थानीय प्रतिभाहरुलाई उचित मञ्च र सम्मान दिलाउनु नगरपालिकाको दायित्व रहेको भन्दै यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गरिँदै जाने बताएका थिए। धन्यवाद ज्ञापन प्रतिष्ठानका सदस्य ज्योती जंगलले गर्दै उपस्थित सबैप्रति आभार व्यक्त गरेका थिए भने कुलपति मल्ल के. सुन्दरले समापन मन्तव्यमा सांस्कृतिक प्रतिष्ठानलाई नगरपालिकाको सांस्कृतिक गतिविधिको केन्द्रबिन्दुका रूपमा विकास गर्दै लैजाने दृढ संकल्प व्यक्त गर्दै कार्यक्रमको विधिवत् समापन घोषणा गरेका थिए।





