बुढानीलकण्ठ, २३ जेठ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ मा स्थानीय खेल प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘चौथो वडा अध्यक्ष कप २०८३’ भव्य रूपमा सञ्चालन भइरहेको छ । युवाहरूलाई खेलकुदको माध्यमबाट प्रोत्साहन गर्ने लक्ष्य राखिएको यस प्रतियोगिताको पहिलो दिन वडा नं. ११ का वडा अध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यमा आयोजित एक विशेष समारोहका बीच औपचारिक उद्घाटन गरिएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष अधिकारीले वडाको समग्र विकाससँगै खेलकुद क्षेत्रलाई पनि आफूहरूले उच्च प्राथमिकतामा समेट्दै आएको र आगामी दिनमा खेलकुदको प्रवर्द्धनलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना समेत दिएका थिए ।

प्रतियोगिताको दोस्रो दिन आज विभिन्न खेलकुद विधाका रोमाञ्चक प्रतिस्पर्धाहरू सम्पन्न भएका छन् । बास्केटबल खेलतर्फ दीक्षालय नेपाल फाउन्डेसनले सानदार प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यसैगरी खेलमा कडा प्रतिस्पर्धा गर्दै साम्तेन मेमोरियल एजुकेसनल एकेडेमी दोस्रो र माउन्ट कैलाश बोर्डिङ सेकेन्डरी स्कुल तेस्रो भएका छन् ।

यसैगरी बुद्धिचाल (चेस) विधाको खेलमा न्यू मिलेनियम एकेडेमीले वर्चस्व कायम गरेको छ । न्यू मिलेनियमले चेसको छात्र (ब्वाइज) र छात्रा (गर्ल्स) दुवैतर्फको प्रतिस्पर्धामा बाजी मार्दै आफ्नो बलियो उपस्थिति प्रमाणित गर्‍यो । अर्कोतर्फ, निकै प्रतीक्षित र रोमाञ्चक बनेको फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । प्रतियोगिताको दोस्रो दिन भएका खेलहरूबाट ज्ञान प्रकाश स्कुल, दीक्षालय, जन जागृति र साम्तेन मेमोरियलले आ–आफ्नो खेल जित्दै सेमिफाइनलको यात्रा तय गरेका छन् । सेमिफाइनलमा प्रवेश गरेका यी चार टोलीबीच अब फाइनल प्रवेशका लागि कडा भिडन्त हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय