बूढानीलकण्ठ वडा नं ०९ मा खानेपानीको बोरिङ भईरहेको छ। बरफेदी खानेपानी योजना अन्तर्गतको पुरानो खानेपानी बोरिङको स्रोत सुकेको कारण नयाँ बोरिङ उत्खनन् सुरु भएको हो।
करिव ३०० घर धुरिले उपभोग गर्दै आएको बरफेदी खानेपानी २०७२ सालको भुकम्पको धक्का पछि बोरिङमा पानीको मात्रा घट्दै गएको थियो। विगत ४ बर्ष देखि पानी कम हुदैँ गएकोले उपोभोक्ताहरु खानेपानीको समस्या भएको गुनासो गर्दै आएका थिए।
बोरिङमा समस्या भइरहेको स्थितिमा प्राविधिकहरुले अनुगमन गर्दा गत दुई महिना अघि देखी स्रोतमा पानी पूर्ण रुपमा सुकेको प्रतिवेदन वडालाई दिएको थियो। पानीको समस्या बढ्दै गरेको कारण यसलाई समाधान गर्नको लागि नयाँ बोरिङको आवश्यक्ता भएकोले वडाले बोरिङ उत्खनन् योजनाको लागि काठमाडौं उपत्यका खानेपानी ईलेक्ट्रो मेकानिकल शाखालाई पहल गर्यो।
वडाको निरन्तर पहल र समस्यालाई मध्यनजर गर्दै विस्तृत अध्ययन पछि काठमाडौं उपत्यका खानेपानी ईलेक्ट्रो मेकानिकल शाखाले नयाँ बोरिङ उत्खनन् गर्ने टेण्डर आव्हान पत्र निकालेको थियो। “टेण्डर अनुसार पाथिभारा सोलार एण्ड वाटर ट्रिटमेन्ट सर्भिस प्रा.लि. ले योजनाको काम सुरु गरेको हो। कुल लागत ६४,१०,४५०\- रुपैँयामा हुन लागेको यस बोरिङ ३०० मिटर गहिराई सम्म जाने छ”, पाथिभारा सोलार एण्ड वाटर ट्रिटमेन्ट सर्भिस कम्पनीका प्रोपाईटर देवेन्द्र चौलागाँईले जानकारी दिनु भयो।
बोरिङ बूढानीलकण्ठ नगरपालिका वडा नं ०९ र काठमाडैं महानगरपालिका वडा नं ०४ सिमानामा रहेको मनमोहन पार्कमा निर्माण हुदैँ छ। वडामा बोरिङ उत्खनन् गर्न उपयुक्त जमिन नभएकोले सम्भावित अन्य ठाँउको अनुसन्धान पश्चात काठमाडौं महानगरपालिका वडा नं ०४ मा निर्माणाधीन अवस्थामा रहेको मनमोहन पार्क क्षेत्रमा हुन लागेको हो।
योजना अनुसार यस ठाँउमा बूढानीलकण्ठ नगरपालिका र महानगरपालिका बिचको संझौता अनुरुप हुन लागेको वडा सदस्य पर्शुराम कार्किले जानकारी दिनु भयो। उहाले जमिनको बिषयमा महानगरपालिका सँग समन्वय र सम्झौता गर्नको लागी नगर प्रमुख उद्दव खरेलको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो।
बरफेदी खानेपानी उपभोक्ता समिति अन्तर्गत रहेको यस खानेपानी योजनाले ७ बर्ष अघि देखिनै खानेपानी वितरण गर्दै आएको थियो। “घर-घर मा पाईपलाइन पुगिसकेको यस खानेपानीको धाराबाट पानी आउन कम भएपनि उपभोक्ता समिति लामो समय देखि निष्क्रिय रहेकोले वडा स्वयंको नेतृत्वमा यस योजना पूनः सुचारु गरीएको हो”, हाल कार्यवाहक अध्यक्ष सुमित्रा त्रिपठीले जानकारी दिनु भयो।
यस योजना अन्तर्गत महानगरपालिका र बुढानीलकण्ठ नगरपालिका समेटीएका आदर्श नगर टोल, दहाल गाँऊ, सुकेधारा नयाँ कोलोनि, सिर्जना टोल, अखण्ड टोल लगायत अन्य वस्तिको करीव ३०० घरका २८०० जना व्यक्तिहरुले खानेपानी उपभोग गर्न मिल्ने व्यवस्था मिलाईएको छ।