काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालनमा रहेका तर हालसम्म करको दायरामा नआएका विभिन्न संस्थाहरूलाई कर प्रणालीमा आबद्ध गराउने उद्देश्यले राजस्व केन्द्रित अनुगमन तथा निरीक्षण कार्यक्रम सुरु गरेको छ। नगरपालिकाका अनुसार संस्थागत विद्यालय, निजी स्वास्थ्य संस्था, सहकारी संस्था, फोहोरमैला तथा सरसफाइ व्यवसायी संघसंस्था तथा अन्य औद्योगिक एवं व्यापारिक प्रतिष्ठानहरूलाई व्यवस्थित रूपमा कर प्रणालीमा समेट्ने लक्ष्यसहित यो अभियान सञ्चालनमा ल्याइएको हो।

कार्यक्रमअन्तर्गत पहिलो चरणमा २०८३ साल बैशाख १६ गतेदेखि संस्थागत विद्यालयहरूमा अनुगमन तथा निरीक्षण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। यस चरणमा विद्यालयहरूको वास्तविक अवस्था, दर्ता स्थिति, आर्थिक कारोबार तथा कर सम्बन्धी विवरण संकलन गरिनेछ। नगरपालिकाले उक्त अनुगमनबाट प्राप्त हुने यथार्थ तथ्याङ्कका आधारमा आगामी दिनमा राजस्व व्यवस्थापन सम्बन्धी नीति, कार्यक्रम तथा योजनाहरू अझ प्रभावकारी ढंगले तर्जुमा र कार्यान्वयन गर्न सकिने विश्वास लिएको छ।

अनुगमन तथा निरीक्षणमा खटिएका टोलीलाई आवश्यक सत्य तथा तथ्यपरक सूचना उपलब्ध गराई सहयोग गर्न नगरपालिकाले सम्पूर्ण सरोकारवाला निकाय तथा सम्बन्धित पक्षहरूसँग हार्दिक अनुरोध गरेको छ।नगरपालिकाको यो पहलले कर प्रणालीलाई पारदर्शी, व्यवस्थित र दायरा विस्तार गर्ने अपेक्षा गरिएको छ, जसले स्थानीय विकास र सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय