बुढानीलकण्ठ, काठमाडौँ
२०८३ वैशाख १५
बुढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम निर्माणका लागि नगरमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा नगरभित्रका नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलका स्थानीय नेता तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। छलफलका क्रममा सहभागी दलका प्रतिनिधिहरूले नगरको दिगो विकास, शिक्षा, स्वास्थ्य, खेलकुद र पूर्वाधार निर्माणका क्षेत्रमा आफ्ना सुझाव र धारणाहरू प्रस्तुत गरेका थिए।
‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ को खुसीयाली र बधाई
छलफलका क्रममा उपस्थित सबै राजनीतिक दलहरूले बुढानीलकण्ठ नगरपालिकाले हालै ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हासिल गरेकोमा नगर नेतृत्व र कर्मचारी प्रशासनलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए। दलका प्रतिनिधिहरूले यो उपलब्धि सम्पूर्ण नगरबासीका लागि गौरवको विषय भएको र यसले आगामी दिनमा थप जिम्मेवार भएर काम गर्ने ऊर्जा प्रदान गरेको बताए।
नेतृत्वको प्रतिवद्धता
कार्यक्रममा बोल्दै नगर प्रमुख मिठाराम अधिकारीले उत्कृष्ट नगरपालिकाको गरिमालाई जोगाउँदै आगामी वर्षको नीति तथा कार्यक्रमलाई अझ जनमुखी र पारदर्शी बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो:
“हामीले प्राप्त गरेको पुरस्कार साझा प्रयासको फल हो। अबको हाम्रो लक्ष्य भनेको राजनीतिक सहमतिका आधारमा नगरलाई थप समृद्ध बनाउने र विकासका योजनाहरूलाई समयमै सम्पन्न गर्ने हुनेछ र कुरा कम काम धेरैमा ध्यानाकर्षण गराउन चाहे।”
त्यसैगरी, कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले नगरको अव्यवस्थित शहरीकरण नियन्त्रण, खानेपानीको दीर्घकालीन समाधान , वातावरणीय संरक्षणका क्षेत्र र खेलकुदमा नगरपालिकाले विशेष योजना ल्याउनुपर्नेमा जोड दिएका थिए।





