काठमाडौँ, १६ वैशाख २०८३
बुढानीलकण्ठ नगरपालिका वडा नं. २ मा फोहोर व्यवस्थापनलाई आयआर्जनसँग जोड्दै एक नविन अभियानको औपचारिक सुरुवात गरिएको छ। ग्रामीण स्वावलम्बन विकास केन्द्र (RDSC) को Womenpreneurs4Plastic (W4P) परियोजना अन्तर्गत स्थापना गरिएको Women’s Plastic Bank को बुधबार एक समारोहबीच हस्तान्तरण गरिएको हो। विस्तृत प्रारम्भिक सर्वेक्षण गरिए पछि उपयुक्त भए लगतै बुढानीलकण्ठ नगरपालिका वडा न. २, वाशिकुस्थित पञ्चकन्या मन्दिर नजिकै निर्माण गरिएको उक्त केन्द्रमार्फत अब स्थानीय स्तरमै सुख्खा फोहोर संकलन, वर्गीकरण र प्रशोधन गरिनेछ। यस पहलले फोहोर व्यवस्थापनलाई व्यवस्थित मात्र बनाउने नभई स्थानीय महिलाहरूका लागि रोजगारी तथा आयआर्जनको अवसर समेत सिर्जना गर्ने विश्वास गरिएको छ।
सहकारी मोडेलमा नवीन अभ्यास
बुढानिलकण्ठ नगरपालिकामा गरिएको विस्तृत प्रारम्भिक सर्वेक्षणले उक्त क्षेत्रमा बढ्दो शहरीकरणसँगै उत्पन्न हुँदै गएको सुख्खा फोहोर व्यवस्थापन चुनौतीलाई स्पष्ट रूपमा औँल्याएको थियो। घरपरिवार, व्यवसायिक क्षेत्र तथा सार्वजनिक स्थानबाट निस्कने प्लास्टिक तथा अन्य पुनःप्रयोगयोग्य फोहोरलाई व्यवस्थित ढंगले संकलन र व्यवस्थापन गर्न सकिने सम्भावना देखिएपछि सहकारी मोडेललाई प्रभावकारी विकल्पका रूपमा अघि सारिएको हो। स्थानीय महिलाहरूको सक्रिय सहभागिता र नेतृत्वमा सहकारी गठन गरिनु यस परियोजनाको मुख्य विशेषता रह्यो, जसले समुदायमै स्वामित्व र उत्तरदायित्वको भावना विकास गरेको छ। साथै, सहकारीमार्फत संस्थागत संरचना तयार हुँदा दीर्घकालीन रूपमा दिगो फोहोर व्यवस्थापन प्रणाली स्थापना हुने अपेक्षा गरिएको छ।
यस परियोजनाअन्तर्गत महिलाहरूलाई केवल फोहोर छुट्याउने र प्रशोधन गर्ने सीपमा मात्र सीमित नराखी, त्यसलाई मूल्यवर्धित उत्पादनमा रूपान्तरण गर्ने व्यावसायिक दक्षता पनि प्रदान गरिएको छ। प्लास्टिकजन्य सामग्रीबाट कुर्सी, सजावटी सामग्री लगायत अन्य उपयोगी वस्तु निर्माण गर्ने तालिमले उनीहरूलाई उद्यमशीलतामा जोडेको छ। त्यस्तै, उत्पादनको बजारीकरण, मूल्य निर्धारण, ग्राहक व्यवस्थापन तथा सहकारी सञ्चालनसम्बन्धी ज्ञानले महिलाहरूलाई आत्मनिर्भर बन्न थप सक्षम बनाएको छ। यसरी, वातावरणीय सरसफाइसँगै आर्थिक गतिविधि जोडिँदा “फोहोरलाई स्रोतमा रूपान्तरण” गर्ने अवधारणाले व्यवहारिक रूप लिँदै स्थानीय तहमा दिगो विकासको नयाँ उदाहरण स्थापित गर्ने विश्वास गरिएको छ।
काठमाडौँ जिल्लाकै पहिलो ‘सहकारी ढाँचा’ को फोहोर व्यवस्थापन
काठमाडौँ जिल्लामै सम्भवतः पहिलो पटक बुढानीलकण्ठ-२ मा सहकारी मोडेलमा फोहोर व्यवस्थापन कार्य सुरु गरिएको हो। यसले फोहोरलाई विसर्जन मात्र नगरी त्यसबाट आयआर्जनको नयाँ पाटो खोलेको छ, जसले स्थानीय महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने विश्वास लिइएको छ।
जनप्रतिनिधिहरूको प्रतिबद्धता
कार्यक्रममा बोल्दै नगर प्रमुख मिठाराम अधिकारीले फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी आर्थिक लाभ लिन सकिने यस मोडललाई अन्य वडाहरूमा समेत विस्तार गरिने बताउनुभयो।
उप-प्रमुख अनिता लामाले महिलाहरूको सक्रिय सहभागिताले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो वडालाई स्वच्छ र नमूना वडा बनाउने लक्ष्यमा यो परियोजना महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।
‘फोहोर होइन, अवसर’ भन्ने सन्देश
कार्यक्रममा सहभागी एक महिला उद्यमीले अब घरबाट निस्कने फोहोर बोझ नभई आम्दानीको आधार बन्ने बताउँदै यस पहलप्रति उत्साह व्यक्त गर्नुभयो।
यो कार्यक्रमले बुढानीलकण्ठलाई ‘शून्य फोहोर नगर’ बनाउने अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ। स्थानीय तह, विकास साझेदार संस्था र समुदायको सहकार्यमा सुरु गरिएको यस अभियानले दिगो विकास र वातावरणीय संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।





