बूढानीलकण्ठ नगरपालिका वडा नं ०१ तौलुङ चौताराको उत्तर तर्फ बाटो ढलानको काम भईरहेको छ।
तौलुङ चौतारा देखि उत्तर तर्फ जाने उकालो बाटो निर्माण भएतापनी अहिले सम्म बाटोको स्तरोन्नति भएको थिएन। २५- ३० घर धुरीले प्रयोग गर्दै आएको यस सडकमा बर्खामा बाढि र हिलोले गर्दा विभिन्न समस्याहरु आउने गरेको स्थानीयको गुनासो वडाले सुन्दै आएको थियो।
यस क्षेत्रमा बाटो स्तरोन्नतिको काम निकै प्राथमिकतामा रहेकोले स्थानीयको गुनासोलाई सुनुवाई गर्न वडाले सडक ढलानको योजना बनाएको थियो। योजना कार्यान्वयन गर्नको लागी वडा कार्यालय र उपभोक्ता समितिको सहकार्य अनुसार ५०-५० प्रतिशत लागतमा हुन लागेको हो।
“तौलुङ चौतारा उत्तरतर्फ बाटो निर्माण उपभोक्ता समिति” अन्तर्गत रहेको यस योजनाको कुल लागत ३५ लाख रहेको छ। जसमा उपभोक्ता समितिको रु.१७,५०,०००\- र वडा बाट आ.व. २०७७\७८ वडा स्तरिय योजना अन्तर्गत रु.१७,५०,०००\- बजेट विनियोजन भएको वडा नं ०१ अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनु भयो।
एक महिना अघि सुरु गरिएको बाटो ढलान कार्यको ८०% काम पुरा भईसकेको छ। योजना माघ महिनाको अन्तिम सम्म पूर्ण रुपमा सम्पन्न गर्ने उपभोक्ता समितिले अनुमान गरेको छ।