बूढानीलकण्ठ, श्रावण २४ गते ।
बूढानीलकण्ठ नगरपालिकाको सामुदायिक विद्यालयहरुमा डिजिटल क्लासरुम संचालनमा आएको छ । नगरपालिकालाई प्रविधिमैत्री बनाउने अभीयान अन्तर्गत विद्यालयको कक्षा कोठाहरुमा प्रविधिमैत्री Smart LED Display बोर्ड मार्फत पठनपाठन सुरु गरिएको हो ।
संघ, प्रदेश र नगरपालिकाको सहयोगमा सुचना प्रविधि प्रयोगशाला निर्माण तथा कक्षाकोठामा Smart LED Display बोर्ड स्थापना गरी प्रविधिमैत्री शिक्षण सिकाई प्रक्रिया सुचारु गर्ने उद्देश्यका साथ हाल ३ वटा विद्यालयहरुलाई Smart LED Display बोर्ड वितरण गरिएको सुचना तथा प्रविधि शाखा अधिकृत शान्तराज पौडेलले जानकारी दिनुभयो ।
“हाल नगरपालिकाको जनजाग्रीति मा.वि., नौलिन मा.वि. र ग्राम शिक्षा मन्दिर मा.वि. मा वितरण गरि सकेकाछौँ, अन्य विद्यालयहरुमा पनि क्रमश वितरण गर्दै लैजाने हाम्रो योजना रहेको छ”, पौडेलले बताउनुभयो ।
Smart LED Display बोर्डमा Android र Windows दुबै विशेषताहरु छन् । जसमा Touch Screen Pen बाट लेख्न र मेट्न मिल्छ र विद्यार्थिहरुलाई Audio-Visual शिक्षा, Powerpoint Presentation लगायत कम्प्युटरका पाठ्यक्रमहरु सजिलै सिकाउन मिल्ने व्यवस्था छ ।
यसको प्रयोग सम्बन्धी आज नौलिन मा.वि. मा विद्यालयका IT Mentor र शिक्षक/शिक्षिकाहरुलाई अभिमुखिकरण तथा तालिम सञ्चालन गरिएको थियो ।
शिक्षण सिकाई प्रक्रियामा प्रविधिको यस्तै अभ्यास मार्फत विद्यालय तहको शिक्षामा विद्यार्थीसँगको साक्षात्कारलाई अघि बढाउन उपयुक्त हुने विद्यालय परिवारको बुझाई छ । डिजिटल प्लेटफर्मको सिकाइसँगै शिक्षक, प्राध्यापक तथा विद्यार्थीबीच अन्तरक्रिया हुने वातावरणले अध्ययन र अध्यापन प्रभावकारी हुने शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले बताउनुभयो ।