बूढानीलकण्ठको उद्यमशिल विकासमा उदाहरणीय कार्यको सुरुवात वडा नं ०२ को नमुना महिला बेकरी तथा क्याफेले गरेको छ। बि.सं. २०७४ मा सुरु भएको यस नमुना महिला तथा बेकरी क्याफे वडा नं ०२ को चपली महिला महासंघ द्वारा सञ्चालित छ।
वडा नं ०२ को २४ वटा महिला समुहलाई समेटि स्थापना भएको महासंघले वडा बाट सञ्चालन भएको कुकिङ तथा बेकरी तालिममा आफ्नो केही सदस्यहरुलाई सहभागी हुने मौका दिएको थियो। केहि समयको प्रभावकारी तालिम लिए पछि आफ्ना सदस्यहरुले सिकेको सिपबाट सम्भावित उद्यमशीलताका अवसरहरुलाई मध्यनजर गरी आफ्नै बेकरी खोल्ने योजना तयार गरेको थियो।
योजना को विस्तारमा अध्य्यन गरी यसलाई कार्यान्वयन गर्नको लागि २० लाख पुँजी चाहिने अड्कल भएको थियो। त्यतिबेला महासंघ संग पर्याप्त पुँजी नभएकोले महासंघका सदस्यहरुबाट १० लाख रुपैयाँ संकलन गरी अन्य आवश्यक बेकरी मेसिनहरुको लागी वडा संग सहयोग मागिएको थियो।
“चपली घुम्ति चोकमा रहेको नमुना बेकरीमा ११ जना सञ्चालक छन् जस्मा ४ जना महिलाहरुले पूर्ण रोजगारी पाईरहेको स्थिति छ। बेकरीमा बर्थ डे केक, दुनोट, पाउरोटि जस्ता बेकरी आईटम लगायत मोःमोः , चाउमिन, पिज्जा, जस्ता अन्य खाजाहरु पनी पाईने व्यवस्था छ। साथै बूढानीलकण्ठमा हुने विभिन्न कार्यक्रमहरुमा अर्डर बमोजिम खाजा प्याकिङ र वितरणको सुविधा छ”, सञ्चालक तथा चपलि महिला महासंघ अध्यक्ष निशा बराल बताउनु हुन्छ।
महिला महासंघले उद्यमशिल विकासको लागि चालेको यस उदाहरणिय कदमलाई समर्थन गर्दै थप प्रेरणा स्वरुप वडाको तर्फ बाट योजनाको लागी बेकरी मेसिन र उपकरणहरु खरीद गर्न वडाको आर्थिक बजेट बाट १० लाख रुपैयाँ सहयोग गरेको वडा नं ०२ अध्यक्ष राजेन्द्र खड्का बताउनु हुन्छ।
चपलि महासंघ बेकरी लगायत अन्य सामाजिक कार्यहरुमा पनि सक्रिय रहेको छ। महासंघले उद्यम तालिम लिन ईच्छुक व्यक्तिहरुको लागि आफ्नै बेकरी तालिम कक्षहरु सञ्चालन गर्दै आएको छ। अहिले सम्म २०० जना भन्दा बढि व्यक्तिहरुलाई बेकरी तालिम प्रदान गरी तालिम प्राप्त व्यक्तिहरुलाई रोजगारीको अवसर पनी प्रदान गरेको छ।
बूढानीलकण्ठमा स्थानीह तह को सुरुवात भए देखि नगरपालिकामा विभिन्न किसिमका घरेलु तथा उद्यमशीलताको तालिम प्रसस्त रुपमा सञ्चालन हुदै आएका छन् । कृषि तालिम, हस्तशील्प, अचार बनाउने तालिम, ड्राईभिङ, कुकिङ, बेकरी जस्ता विविध तालिमहरुबाट महिला, युवा तथा लक्षित वर्गिय बेरोजगार व्यक्तिहरु सिपबाट लाभान्वित भएको तथ्याङ्क नगरपालिकाले राखेको छ।
नगरपालिकाकाले प्रदान गरेको ईच्छा अनुसारको तालिम पाईरहेको र तालिम प्राप्त मानिसहरु आफुले सिकेको सिपहरुलाई व्यवहारीक जिवनमा उतार्न नसकिरहेको स्थिति देखिन्छ। विभिन्न कारणहरुले प्रस्फुटन हुन नसकेको यस किसिमको सीपहरु समय संगै ओईलाउदै गएको थुप्रै उदाहरणहरु वडा वडामा देखिएको छ।