बूढानीलकण्ठ, असार १५ गते । 

बूढानीलकण्ठ नगरपालिकामा धान दिवस अर्थात रोपाई दिवस भव्यताका साथ मनाईएको छ ।

नगरपालिका कृषि विकास शाखा र पशु सेवा शाखाको संयुक्त आयोजनामा आज (बुधबार) एक विशेष रोपाई कार्यक्रम आयोजना भएको थियो ।

 

वडा नं १३ स्थित कृषि क्षेत्र सापाटारमा आयोजित कार्यक्रममा नगरपालिका प्रमुख मिठाराम अधिकारी, प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने, वडा नं १३ अध्यक्ष टिकेश नारायण श्रेष्ठ, वडा नं ०२ अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा सदस्य, विभिन्न शाखा\महाशाखा प्रमुख, नगरपालिका कर्मचारी, विद्यार्थि लगायत कृषकहरुले खेतमा धान रोपेका थिए ।

 

नगर प्रमुख अधिकारीले परम्परागत तरिकाले धान रोप्दै रोपाई दिवसमा थप रौनक थप्नुभएको थियो । उहाँ सँगै कृषक र बालबालिका समेतले खन्ने, जोत्ने, रोप्ने र आली लगाउदै मनोरञ्जनका साथ रोपाई गरिरहे ।

कार्यक्रममा नेवार, शेर्पा, क्षेत्री, तामाङ लगायतका समुहहरु सामेल भई हिलोमा लतपतिएर रमाइलोका साथ धान रोप्न थालेका थिए ।

कुल कृषि उत्पादनमा २० प्रतिशत योगदान रहेको धानबाली अधिकांश स्थानमा मनसुन शुरू भएपछि लगाइन्छ।

करीब एक महिना अगाडि राखेको धानको बिउ काढेर डोकोमा बोकेर रोप्ने ठाउँमा लगिन्छ।

धान रोपाइँमा परम्परागत उपाय सँगसँगै आधुनिक प्रविधि पनि प्रयोग हुन थालेका छन्।

रोपाइँ काममात्र नभएर किसानहरूका निम्ति एउटा उत्सवको अवसर पनि हो । रोपाइँ भनेको मानो रोपेर मुरी उब्जाउने भन्ने कथन पनि प्रचलित छ।

मनसुनी वर्षा पर्याप्त नभए पनि सिँचाइको सुविधा प्रयोग गर्दै रोपाइँ सुरु भएका छन् ।

खन्ने, जोत्ने र आली लगाउने काम पुरुषको र धान रोप्ने काम सामान्यतया महिलाले गर्ने भएपनि हिजोआज पुरुष पनि धान रोपाइँमा उत्तिकै सहभागी भएको पाइन्छ।

 

धान दिवसका दिन हिलोमा लतपतिएर रमाइलो गर्ने प्रचलन बढ्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय