बूढानीलकण्ठ, असार ९, २०७९।
बूढानीलकण्ठ नगरपालिकाकाे दशौं नगरसभा नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा सुरु भएको छ । सभामा नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्यहरू र सल्लाहकारहरू, निवर्तमान नगर प्रमुख र उपप्रमुख, नगरपालिकाका कर्मचारीहरू र पत्रकारहरूकाे उपस्थिति रहेकाे थियो । वैशाख ३० गतेको निर्वाचनद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुसँगको यो पहिलो नगरसभा हो ।
सभामा नगर प्रमुख अधिकारीले बुढानीलकण्ठ नगरपालीकाको आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैगरी, उपप्रमुखले नगरपालीकाको आर्थिक विधेयक २०७९, विनियोजन विधेयक, २०७९ तथा नगरपालिकाको अनुमानित आय ब्यायको विवरण पेश गरे ।
कोभिड-१९ को विश्वव्यापी प्रभावले जताततै असहज स्थिति भइरहँदा यस नगरपालिकाको विकासमा सडक निर्माण, कालोपत्रे, ढल निर्माण, खानेपानी विस्तार, पार्क निर्माण, नगर अस्पताल, वडा कार्यालय, सार्वजनिक शौचालय, ह्याण्डबल मैदान लगायत धेरै महत्वपूर्ण योजनाहरु सञ्चालन भैरहेका योजनाहरुलाई पूर्णता दिन आवश्यक बजेट व्यवस्था गरिएको उपप्रमुख लामाले बताइन ।
नगर कार्यपालिकाद्वारा तयार गरि पारित गरिएको आ.व २०७९/०८० को अनुमानित आय रू. २,२०,९६,७०,०००/- (अक्षरेपी रु दुई अर्ब बीस करोड छयानब्बे लाख सत्तरी हजार मात्र) र अनुमानित व्यय तर्फ रु. २,२०,९६,७०,००००० (अक्षरेपी रु दुई अर्ब बीस करोड़ छयानब्बे लाख सत्तरी हजार मात्र) रहेको छ। यस उपर, सभामा विभिन्न वडाहरूबाट प्रतिनिधीत्व गर्दै वडा अध्यक्ष तथा वडा सदस्यहरूले विभिन्न जिज्ञासा, प्रथम प्रश्न तथा सुझावहरू पनि राखेका थिए ।
नगरपलिका अन्तर्गतका ८ समितिहरूमा जनप्रतिनिधिहरुलाई चयन गरिएको हुँदा नगरप्रमुखले नाम वाचन गरी सबैलाई बधाई दिएका छन ।
यसका साथै,सधैंजसो सभाकक्ष बाहिर हेल्थ डेस्क राखि जनस्वास्थ्य महाशाखाका प्रतिनिधीहरूले स्वास्थ्य शिषण सामाग्री, आवश्यक औषधिहरू, मास्क वितरण गर्नका साथै बि.पी. जाँच गरी स्वास्थ्य सेवा प्रवाह गरेका थिए।
आगामी बैठक २०७९ साल असार २५ गते बस्ने गरी बैठक स्थगन गरिएको छ । सभाको अर्को बैठकमा आज पेश भएको नीति, कार्यक्रम तथा बजेट, विधेयकहरुमाथि छलफल हुनेछ |
संविधानमा र स्थानीय तह संचालन ऐन, २०७४ मा व्यवस्था भए अनुसार प्रत्यक आर्थिक वर्षमा नगरसभाकाे बैठक ६ महिनाकाे अन्तरालमा बस्ने गरेकाे छ । असारे नगरसभामा चालु आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम लगायतका योजनाहरू पेश गरी पारेत गरिन्छ भने हिउँदे नगरसभामा चालु आर्थिक वर्षकाे बजेट कार्यक्रम स्वीकृत भएदेखी कार्यान्वयन भएकाे सम्पूर्ण काम र गतिविधिहरूका बारेमा छलफल, अर्धवार्षिक समीक्षा र मुल्याङ्कन गरिन्छ ।