“कक्षा ८ को परिक्षामा त जसरी भएपनी म बोर्ड टप गर्ने हो, मिसले भन्नुभा’को मेरो नतिजाले हाम्रो स्कुलको नाम काठमाडौं भरी चिनिन्छ रे !… यसपालि चाहिँ एकदम मेहेनत गर्छु”, कक्षा ७ विज्ञानको परिक्षामा ५ अंक नपुगेर स्कुल टप गर्न असफल भएकि रोजिना नगरकोटिले यो संवादातालाई अनौपचारिक गफमा सुनाईन ।

यस्तै, फुटबलमा एकदमै रुचि भएको रविन तामाङ जो राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडिहरुको नाम फ्याट-फ्याट’ उच्चारण गर्न सक्थे उनले स्कुलको निर्माणाधीन अवस्थामा रहेको खेल मैदानलाई देखाउदैँ भने “म पढाई सँगै खेलकुदमा पनि नाम बनाउँछु, सुरु मेरै स्कुलको मैदानबाट गर्छु… नगरपालिकाले आयोजना गर्ने विद्यालय स्तर फुटबल प्रतियोगितामा जित्ने गरी खेल्ने हाम्रो सोच छ ।

(यस्ता लगायत अन्य उर्जाशिल संवाद गर्ने मौका पाईयो वडा नं ०४ स्थित श्री राम माध्यमिक विद्यालयमा बूढानीलकण्ठ नगरपालिकाले गरेको अनुगमनको क्रममा । पढाई प्रति रुचि र आफ्नो विद्यालय प्रतिको भावना खुलेर व्यक्त गर्दै थिए विद्यार्थिहरु …)

बूढानीलकण्ठ नगरपालिकाले शैक्षिक क्षेत्र सुधारका लागि सामूदायिक विद्यालय ‘अडिट’ अर्थात अनुगमन सुरु गरेको छ । नगरपालिका शिक्षा महाशाखाको नेतृत्वमा असार ०१ गते बाट नगर भित्र रहेका १९ वटा सामूदायिक विद्यालयमा “विद्यालयको शिक्षण सिकाई परिक्षण ‘अडिट’ तथा प्रधानाध्यापकसँगको कार्य सम्पादन करारको मुल्यांकन कार्यक्रम” मार्फत अनुगमन थालेको हो । अनुगमन असार १९ गते सम्म निरन्तर चल्नेछ ।

“नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुको आगमन सँगै शिक्षा क्षेत्रमा ध्यानाकर्षण भएको थियो । अझ यो पनि बुझौ कि, ‘चासो सुरु देखिनै थियो’ । विकासको आधारनै शिक्षा भएकोले यसलाई प्राथमिकतामा राखेर गुणस्तरिय शिक्षण प्रणालिलाई सुधार गर्ने उद्देश्यका साथ पहिलो कार्यपालिका बैठकबाटनै निर्णय गरि यस कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका हौँ”, नगर प्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठ न्युजलाई बताउनुभयो ।

सोहि निर्देशन अनुसार शिक्षा महाशाखा प्रमुख ललित बिक्रम सिंहको नेतृत्वमा शिक्षा महाशाखा अधिकृत एवं विद्यालय निरीक्षक ईन्द्र प्रसाद दाहाल, आई.टि. ईन्जिनियर शान्तराज पौडेल लगायत युवा परिषद उपाध्यक्ष रुपेश भट्टराईको टोलि सामूदायिक विद्यालयहरुको शिक्षण सिकाई प्रक्रिया, प्रशासनिक, प्राविधिक, वित्तिय लगायत भौतिक योजना पक्षहरुको बारेमा निरिक्षण गर्न निस्केका हुन् ।

शैक्षिक सत्र २०७८\७९ पौष १८ गते सामूदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग भएको २६ बुँदे करार सम्झौता बमोजिम प्रधानाध्यापकहरुको कार्य सम्पादनका प्रभावकारिता बारे बुझ्न प्रधानाध्यापक कार्य सम्पादन करार मूल्यांकन मापदण्ड २०७९ मार्फत कार्य सम्पादन सूचना निर्धारण गरि कार्यपालिकाको निर्णय अनुसार अनुगमन सञ्चालन गरेको शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिनु भयो ।

“हामिले विद्यालय परिसरमा कार्यक्रम आयोजना गरी विद्यालय प्रधानाध्यापक, शिक्षक\शिक्षिका, विद्यालय व्यवस्थापन समिति, सम्बन्धित वडा कार्यालय लगायत विद्यार्थी र अविभावक समेतको उपस्थितिमा बिद्यालयको हालको अवस्था बारे छलफल गर्ने गरेका छौ”, सिंहले जोड्नुभयो,” यसको मुल उद्देश्य भनेको विद्यालयलाई समुदायप्रति उत्तरदायी बनाउने र शिक्षण सिकाई प्रक्रियाबारे शिक्षकलाई विद्यार्थि प्रति जवाफदेहि बनाउने हो” ।

प्रधानाध्यापक सँग गरेको २६ बुँदे सम्झौता बमोजिम महाशाखाले ३६ वटा सूचक तयार गरी १०० अंकको प्रश्नोत्तर तयार गरेको छ ।

जसमा प्रधानाध्यापक, विद्यार्थि, शिक्षक, व्यवस्थापन समिति लगायत वडा जनप्रतिनिधि र अभिभावक समेतको उपस्थितिमा प्रधानाध्यापकलाई प्रश्न गरी उहाँहरुको जवाफ अनुसारको अंक प्रदान गरिन्छ । महाशाखाले जवाफको प्रमाण समेत जाँच गर्छ ।

१०० अंक मध्य मुल्यांकनमा उतिर्ण हुनका लागि विद्यालयहरुले ८० अंक पुर्याउन पर्ने छ ।

८० भन्दा कम आउने विद्यालयलाई पहिलो मुल्यांकनबाट सुधारका लागि निर्देशन दिईने छ भने दोस्रो मा स्पष्टिकरण सोधिने छ र तेस्रो मुल्यांकनमा पनि सुधार नगरेको पाईएमा प्रधानाध्यापक पदबाट राजिनामाको माग गरिने नगर शिक्षा नीति रहेको शिक्षा महाशाखा अधिकृत एवं विद्यालय निरक्षक ईन्द्र दहालले बताउनुभयो ।

मुल्यांकन प्रश्नोत्तरमा विशेष गरि भौतिक संरचनाअन्तर्गत भवन र कक्षाकोठाको प्रयोग र सजावट अवस्था ,विद्यालय हाताको फोहर व्यवस्थापन र सरसफाइको अवस्था, पाठ्यसामग्री सहित पुस्तकालय र यसको प्रयोगबारे लगायत विद्यार्थीको सिर्जनात्मक क्रियाकलाप प्रदर्शन बारे छ । खानेपानीको उपलब्धता कस्तो छ ? र पानीसहितको अपाङ्गमैत्री, छात्रामैत्री, सेनीटरी प्याड प्रयोग र डिस्पोजल गर्ने व्यवस्था कस्तो छ भनेर पनि मुल्यांकन गरिन्छ ।

जवाफदेहिता अन्तर्गत वार्षिक कति दिन विद्यालय खुलेको, पठनपाठन भएको जम्मा दिन, शिक्षक\विद्यार्थीको हाजिरी, वार्षिक बिदा, सरदर एक हप्तामा कति समय एउटा शिक्षकले अध्यापन गराउनुपर्ने, कक्षागत रूपमा सिकाइ उपलब्धि टाँस गरे/नगरेको, कमजोर विद्यार्थीका लागि अतिरिक्त शिक्षण व्यवस्थाको अवस्था, पाठ्यपुस्तकको उपलब्धता, शैक्षिक कार्ययोजना निर्माण र कार्यान्वयन, गुनासो सुनुवाइको व्यवस्थालगायतका बारेमा समेत छलफल गरिन्छ ।

हाल सम्म वडा नं १३ जन जाग्रिति मा.वि., वडा नं १२ स्थित बालकुमारी मा.वि. र वडा नं ०४ मा रहेको श्री राम मा.वि. गरी ३ वटा विद्यालयको अनुगमन र मुल्यांकन भएको छ । जस अन्तरगत बालकुमारी मा.वि. ले ९३ अंक पाएको छ भने जन जाग्रिति मा.वि. ले ८० र श्री राम मा.वि. ले ८५ अंक पाएर उतिर्ण भएको छ ।

श्री राम मा.वि.  अनुगमनको क्रममा एक अविभावकले यस किसिमका अनुगमनले विद्यालय एवं विद्यार्थीहरुको कमि कम्जोरी मुल्यांकन हुने हुँदा दुवै पक्षको क्षमतामा उर्जा मिल्ने भएकोले यसलाई निरन्तरता दिनुहुन आग्रह गर्नु भएको थियो ।

अनुगमनको अन्तमा विद्यालय सुधारको योजनाअनुसार कार्य गर्न विद्यालय परिवार, सम्बन्धीत वडा कार्यालय तथा अभिभावकलाई शिक्षा महाशाखाले सुझाव पनि दिने गरेको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय