बूढानीलकण्ठ, जयेष्ठ २२ गते ।

५ जुन अर्थात् विश्व वातावरण दिवस । सन् १९७२ मा स्विडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ‘ नाराका साथ विश्वव्यापी उत्सव बनेको थियो । योसंयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रमअन्तर्गत सञ्चालित संसारमा मनाइने सबैभन्दा ठूलो वार्षिक कार्यक्रम हो, जसले मानिसहरूमा वातावरणीय चेतनालाई उजागर गर्ने कार्य गर्छ ।

बूढानीलकण्ठ नगरपालिकाले पनि यस वर्षको विश्व वातावरण दिवस वृहत सरसफाई र वृक्षारोपण गरी भव्यताका साथ मनाएको छ । दिवसको अवसरमा “पृथ्वीको संरक्षण; दिगो प्रकृती मैत्री जीवनयापन ” नाराका साथ सबै वडाहरुमा विविध कार्यक्रमहरु पनि संचालन भएका थिए ।

नगरपालिकाको वडा नं ०६ स्थित च्यासुन्डोल चिनारी पार्कमा वातावरण तथा विपद व्यवस्थापन शाखा द्वारा आयोजित एक औपचारिक कार्यक्रम मार्फत नगर प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा र प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछानेले संयुक्त रुपमा विभिन्न प्रजातिका ५ फिट अग्ला विरुवाहरुको वृक्षारोपण गर्नु भएको थियो ।

विश्व वातावरण दिवसको मुख्य उद्देश्य हाम्रो प्रकृतिलाई सुरक्षित राख्न जागरुकता बढाउनु र दिनहुँ बढिरहेका विभिन्न वातावरणीय मुद्दाहरूको सम्बोधन गरी स्वस्थ र सुरक्षित वातावरणका लागि विश्वव्यापी रूपमा मानिसहरूलाई प्रोत्साहन गर्नु हो ।

कार्यक्रममा नगरपालिका प्रमुख , उप-प्रमुख, निवर्तमान उप-प्रमुख, प्रमुख प्रशासकिय अधिकृत सहित सम्पुर्ण वडाका जनप्रतिनिधि, महाशाखा/ शाखा प्रमुख, कर्मचारी, युवा क्लब, संघ संस्था, समाजिक अभियान्ता लगायत समाजसेविहरु उपस्थित थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले प्रकृति, जैविक विविधता र मानवबीचको सम्बन्ध र महत्वबारे आफुले सधै चासो राखेको बताउनुभयो । उहाँले वातावरण संरक्षणको लागि नगरपालिकाले वाटर रिचार्ज प्रणालिको प्रवर्द्धन गरि आकाशे पानिको सदुपयोग गर्ने प्रविधिको सुरुवात गर्ने जानकारी दिदैँ बूढानीलकण्ठलाई स्वच्छ र हरित बनाउनका लागि यहाँका प्राकृतक स्रोत र सम्पदाहरुको संरक्षणमा केन्द्रित आवश्यक योजनाहरु छिटै कार्यन्वयन हुन लागेको समेत बताउनुभयो ।

यस्तै हाल लोप हुँदै गएको पर्यावरणीय स्वच्छतालाई पूनर्जागरण गराउनकालागि साहित्य मार्फत आफ्ना लेख र रचनाहरु कोर्दै आउनुभएका उप-प्रमुख अनिता लामाले प्राकृतिक सौन्दर्यताको मानव जिवनमा आवश्यक्ता बारे आफ्ना भनाई/बुझाईहरु प्रस्तुत गर्दै बूढानीलकण्ठलाई स्वच्छ बनाउने अभियानमा हरेक स्तरबाट साथ र सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

नगर प्रशासकीय अधिकृत भुवनश्वर लामिछानेले दिवसको अवसरमा मात्र नभई वातावरण संरक्षणकालागि यस्ता समाजिक कार्यहरु नियमित रुपमा सञ्चालन गर्नु पर्ने कुरा जोड दिनु भयो । उहाँले यस्ता कार्यक्रमहरुको लागि नगरपालिकाबाट आवश्यक साथ र सहयोग सधै रहेको र रहिरहने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

दिवसको अवसरमा नगरपालिका स्थित विभिन्न पार्क, सार्वजनिक संरचना, सामुदायिक वन लगायत खुल्ला क्षेत्रहरुमा सरसफाई तथा वृक्षारोपण गरि वृहत रुपमा सफल भएको नगरपालिका वातावरण अधिकृत विनोद पाठकले बूढानीलकण्ठ न्युजलाई जानकारी दिनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय