बूढानीलकण्ठ, ज्येष्ठ १६ गते ।
बूढानीलकण्ठको वडा नं. ३ स्थित चापाचौर (चपलिगाँउ) मा सार्वजनिक शैक्षिक गुठि द्वारा सञ्चालित ध्रुबतारा बोर्डिङ स्कुलको पाँच तल्ले नयाँ भवन निर्माण भएको छ ।
२०४६ सालमा स्थापना भएको नगरपालिकाकै पुराना मध्य एक मानिने विद्यालयको नवनिर्मित भवन सोमबार बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले एक समारोहका वीच उद्घाटन गर्नुभयो ।
विद्यालयको पुरानो २ तल्ले (आधा तल्ला जस्ताको) भवन भुकम्पको कारण भत्किएकाले पुराना संरचनालाई पूनःनिर्माण गरी भूकम्प प्रतिरोधी नयाँ सुविधा सम्पन्न ५ तल्ले भवन निर्माण भएको हो ।
बूढानीलकण्ठ नगरपालिका, समाजसेवी संस्था छाया (CHAY YA) र विद्यालयको आन्तरिक कोषको सहकर्यमा भवन निर्माणकार्य सम्पन्न भएको विद्यालय व्यवस्थापम समितिले जनाएको छ ।
विद्यालय प्रांगणमा आयोजित भवन उद्घाटन कार्यक्रममा नगरपालिका प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा, निवर्तमान प्रमुख उद्धव प्रसाद खरेल सहित वडा नं ०३ अध्यक्ष आकाश धिताल, वडा नं ०४ अध्यक्ष श्री राम के.सी. लगायत विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशब बहादुर खड्का, छाया संस्थाकी अध्यक्ष शृष्टि सिलवाल, छायाका प्रतिनिधि सबिना क्लज, विद्यालय परिवार, पूर्व विद्यार्थी समुह, अभिभावक तथा समाजसेविहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालय प्रधानाध्यापक जे.एस. पौडेलले विद्यालयको विगत र वर्तमानमा भएका/गरेका प्रगतिहरु प्रस्तुत गर्नु भयो । पौडेलले सोहि कार्यक्रम मार्फत विद्यालय पूनः निर्माणको लागि प्राप्त भएका आर्थिक तथा भौतिक सहयोगहरुका प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो ।
५ तल्ले भवन निर्माणको लागि विभिन्न चरणमा कुल ३ करोड ९७ लाख ३ हजार ५ सय ६० रुपैया लागत खर्च भएको छ । जसमध्य छाया नेपालले २ करोड ६६ लाख ९ हजार ७ सय २२ रुपैँया, नगरपालिकाको तर्फबाट ५५ लाख २० हजार ४ ७३ रुपैयाँ र विद्यालय आन्तरिक कोष बाट ७५ लाख ५९ हजार ७ सय ७७ रुपैयाँ खर्च भएको थियो ।
महत्त्वपूर्ण संरचनाका रुपमा स्थापित भएको बताउँदै नगर प्रमुख मिठाराम अधिकारीले शिक्षाको गुणस्तर सुधारका लागि बजेटमा प्राथमिकता दिएर भौतिक संरचना निर्माणका साथै खेलकुद, अतिरिक्त क्रियाकलाप, शैक्षिक महोत्सव लगायतका कार्यक्रमहरु अगाडि सारिनेको बताउँनुभयो ।
“शिक्षानै विकासको आधार हो, हाम्रा विद्यालयहरुमा भईरहेका समस्या समाधान गर्न नै हामि आएका हौँ”, अधिकारीले जोड्नुभयो, “यसको लागि प्रभावकारी योजना र कार्यक्रम निर्माण गर्नुहोस् हामी प्राथमिकताका साथ आवश्यक बजेट विनियोजन गर्ने छौ” ।
विद्यालयमा नयाँ भवन थपिएपछि विद्यालयमा अध्ययनरत ८ सय भन्दा बढी विद्यार्थी, शिक्षक र अभिभावकहरुमा खुशी छाएको विद्यालयका प्रधानाध्यापक पौडेलले बताउनुभयो । उहाँले विद्यालयको विज्ञान प्रयोगशाला, पुस्ताकालय पनि निर्माण भईरहेको बताउँदै विद्यालयमा ईन्जिनियरिङ जस्ता प्राविधिक शिक्षा पनि पठनपाठन हुन लागेको जानकारी दिनु भयो ।