बूढानीलकण्ठ, ज्येष्ठ १३ गते ।
बूढानीलकण्ठ युवा परिषद् अध्यक्ष पद बाट उद्वव प्रसाद खरेललाई विदाई, पदमा नगर प्रमुख मिठाराम अधिकारीलाई स्वागत
बूढानीलकण्ठ नगर युवा परिषदको निवर्तमान अध्यक्ष उद्धव प्रसाद खरेललाई विदाई गरिएको छ । आज एक औपचारिक कार्यक्रम मार्फत युवा परिषदका अध्यक्ष समेत रहेका निवर्तमान नगर प्रमुख उद्धव प्रसाद खरेललाई विदाई गरिए सँगै खरेलले उक्त पद नवनिर्वाचित नगर प्रमुख मीठाराम अधिकारीलाई हस्तान्तरण गर्नुभएको छ ।
नगरपालिका युवा परिषद अध्यक्षमा नगरपालिका प्रमुख अध्यक्ष पदमा रहने प्रावधान अनुसार सो पद हस्तानतरण गरिएको हो ।
विदाई तथा स्वागत कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी र उप-प्रमुख अनिता लामा सहित नगर युवा परिषद कार्यकारी उपाध्यक्ष रुपेश भट्टराई, सदस्य सरोज धिताल र दिपु बस्नेत लगायत युवा परिषद अधिकृत भोला लामिछाने र सम्पुर्ण वडा युवा परिषद अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगर युवा परिषद उपाध्यक्ष रुपेश भट्टराईले वर्तमान अध्यक्ष मिठाराम अधिकारी, निवर्तमान अध्यक्ष उद्धव प्रसाद खरेल र नगर उप-प्रमुख अनिता लामालाई फुलमाला सहित सम्मान गर्नु भएको थियो ।
भट्टराईले युवा परिषद गठन भए देखि अहिले सम्म गरेका सम्पुर्ण कार्यक्रम तथा योजनाहरुको विवरण प्रस्तुत गर्दैँ युवा परिषद गठन गर्न महत्वपुर्ण भुमिका खेल्नु भएको उद्धव प्रसाद खरेललाई विशेष धन्यवाद दिनु भयो ।
यस्तै नवनिर्वाचित प्रमुख र उप-प्रमुख माझ युवा परिषदलाई आगामि दिनहरुमा सकृय रुपमा सञ्चालन गर्ने प्रतिवद्दता साथ आवश्यक सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनु भयो ।
नगर प्रमुख एवं युवा परिषद अध्यक्ष मिठाराम अधीकारीले नगरका युवाहरुलाई सरकार प्रति जिम्मेवार बनाउनका लागि यस मार्फत आगामि दिनहरुमा गर्न सकिने विविध योजना तथा कार्यक्रमहरु उपर छलफल गर्नु भएको थियो ।
जसमध्य वडा स्तरबाटनै युवाका योजनाहरु छनौट गर्ने, युवा भेला तथा वैठक नियमित सञ्चालन गर्ने तथा नगरका हरेक नीति, कार्यक्रम तथा योजनाहरुमा युवा सहभागितालाई विशेष प्राथमिकता दिने रहेको थियो ।
“नगर विकासको मजवुत किल्लानै युवा वर्ग हो”, अधिकारीले भन्नुभयो, “युवाहरुका हरेक समस्या एवं योजनाहरु सकृयताका साथ सम्बोधन गर्ने छौ” ।
निवर्तमान नगर प्रमुख उद्धव प्रसाद खरेलले युवा परिषद मार्फत नगरका युवाहरुलाई सकृय बनाउन गरिएका प्रभावकारी प्रयासहरुको स्मरण गर्दै यसलाई अझै व्यवस्थीत गरि अघि बढाउन सल्लाह दिनु भयो ।
उहाँले नगरका युवा प्रतिभाहरु प्रस्फुटन हुने किसिमका सांगितक कार्यक्रम, महोत्सव, खेल प्रतियोगिता जस्ता कार्यक्रमहरु सञ्चालन गर्न सुझाव समेत दिनु भएको थियो । साथै यस किसिमका हरेक कार्यहरुमा आवश्यक सहयोगका लागि आफु सधै तयार रहेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित नगर उप-प्रमुख अनिता लामाले युवा जोश र क्षमताको उच्च मुल्याङ्कन हुने र युवाका हरेक समस्यालाई प्राथमिकताका साथ सम्बोधन गरिने बताँउदै महिलाहरुलाई पनि विशेष प्राथमिकताका साथ समावेश गर्न र गराउनहुन सम्बन्धित सबै निकायलाई अनुरोध गर्नु भएको थियो ।
सोहि कार्यक्रम मार्फत नगर युवा परिषदको खेलकुद समितिका संयोजक दिपु वस्नेतले “नगर खेलकुद महोत्सव” कार्ययोजनाको प्रस्तावना नगर प्रमुख र उप-प्रमुख माझ प्रस्तुत गर्नु भएको थियो ।
जसमा नगर भित्रका सबै वडामा बास्केटबल, फुटसल, व्याड्मिन्टन, चेस, टेबल टेनिस जस्ता १४ थरि खेल प्रतियोगिता सञ्चालन गर्ने रहेको थियो ।