स्थानीय तह निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेलाई सहयोग गर्न स्थापना गरिएको कल सेन्टरमा “कतिपय रोचक” जिज्ञासाहरू आउने गरेको कर्मचारीहरूले बताएका छन्।
उनीहरूका भनाइमा गत चैत १५ गतेदेखि सुरु भएको कल सेन्टरमा हाल दैनिक ४०० को हाराहारीमा जिज्ञासा आउने गरेका छन्।
तीमध्ये सम्भव भएसम्म सबैलाई सम्बोधन गरिएको अधिकारीहरूको भनाइ छ।
अहिले बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चलिरहेको कल सेन्टरलाई “आवश्यक परेमा” चौबिसै घण्टा पनि चलाउन सकिने निर्वाचन आयोगका अधिकारीहरूको भनाइ छ।
मङ्गलवारसम्म कल सेन्टरमा कुल ७,१८१ जिज्ञासा आएको आयोगको कल सेन्टरको विवरणमा देखिन्छ।
त्यसमध्ये १,०२७ वटा भ्वाइस मेल अर्थात् रेकर्ड गरिएको कल तथा अन्य सीधा कल गरेर सोधिएका थिए।
आयोगको कल सेन्टरका सुपरभाइजर मधुसुदन पुडासैनीका अनुसार कतिपय व्यक्तिहरूले “विभिन्न खाले रोचक र अनौठा” प्रश्नहरू पनि सोध्ने गरेका छन्।
अधिकारीहरूले दिएको जानकारी अनुसार कल सेन्टरमा राखिने मुख्य केही जिज्ञासाहरू:
१. ‘विदेशबाट चुनावका लागि फर्किएँ, भोट हाल्न किन नपाउने?’
अहिले कल सेन्टरमा सबैभन्दा बढी प्रश्न सोध्नेमा वैदेशिक रोजगारीबाट स्वदेश फर्किएकाहरू रहेको पुडासैनी बताउँछन्।
उनका भनाइमा विदेशबाट फर्किएका तर मतदाता नामावलीमा नाम नभएकाहरूले कल सेन्टरमा धेरै फोन गर्ने गरेका छन्।
“वैदेशिक रोजगारीमा गएका साथीहरू फर्किनु भयो तर आयोगले सूचना निकालेको बेला उहाँहरूले नामावली अद्यावधिक गर्न पाउनु भएन,” उनी भन्छन्।
“त्यस्ता व्यक्तिहरूको मतदाता नामावलीमा नाम छुट्यो अब भोट कसरी हाल्ने भन्ने गुनासो धेरै आइरहेको छ।”
अहिले नामावली अद्यावधिक गर्ने अवस्था र व्यवस्था नभएकाले त्यस्ता जिज्ञासा राख्नेहरूलाई पछि सूचना हेरेर त्यसै अनुसार नाम लेखाउनु भन्ने जवाफ दिने गरिएको अधिकारीहरू बताउँछन्।
२. ‘नागरिकता वा अरु परिचयपत्रबाट भोट हाल्न पाइन्छ कि पाइँदैन?’
कल सेन्टरमा कैयौँले परिचयपत्र हराएको प्रतिलिपि कसरी निकाल्ने भन्ने जिज्ञासा पनि राख्ने गरेको पुडासैनी बताउँछन्।
त्यस्तै बसाइँसराइका कारण दोहोरो नामावली हुने बुझाइ पनि कतिमा रहेको पाइएको उनले जानकारी दिएका छन्।
तर दोहोरो नामावली भएका कैयौँ व्यक्तिहरूको मतदाता नामावलीबाट नाम हटाइएको उनी बताउँछन्।
आफूहरूले सोही जानकारी दिने गरेको कल सेन्टरका कर्मचारीको भनाइ छ।
पुडासैनी भन्छन्, “अर्को आइरहने जिज्ञासा भनेको मतदाता नामावलीमा नाम छ तर परिचयपत्र छैन। हामीले नागरिकता वा अन्य परिचयपत्रबाट भोट हाल्न पाइन्छ कि पाइँदैन भन्ने पनि हो।”
“हामीले अहिले त्यसबारे आयोगले निर्णय गरिसकेको छैन भन्ने जवाफ दिने गरेका छौँ।”
३. ‘शैक्षिक योग्यता किन नराखेको?’
प्राय: युवा पुस्ताका मतदाताले चाहिँ आफ्नो स्थानीय तहका उम्मेदवारहरूको शैक्षिक योग्यताबारे प्रश्न गर्ने गरेको कल सेन्टरका कर्मचारीको भनाइ छ।
कतिपयले “म पहिलो पटक भोट हाल्न लागेको तर तपाईँहरूले उम्मेदवार शैक्षिक योग्यता नै राख्नुभएन कसलाई मत दिनु” भन्ने खालको प्रश्न गर्ने गरेको उनीहरूको भनाइ छ।
“धेरै युवा मतदाताले अन्य योग्यता राख्नुहुन्छ तर शैक्षिक योग्यता किन राख्नुभएन भनेर भन्नुहुन्छ। हामीले त्यसलाई सुझावका रूपमा लिएका छौँ,” पुडासैनीले भने।
उनका भनाइमा कतिपयले निश्चित शैक्षिक योग्यता भएकालाई मात्र उम्मेदवार बन्न पाउने नियम बनाउन सुझाव पनि दिने गरेका छन्।
४. ‘हेलो.. फलानाको नम्बर कति हो?’
पुडासैनीका अनुसार कतिपयले कल सेन्टरमा निकै रोचक कुरा पनि सोध्ने गरेका छन्।
त्यस्तै मध्येको एक हो: व्यक्ति तथा संस्थाको फोन नम्बर खोजी गर्नु।
“कतिलाई हाम्रो कल सेन्टर पनि नेपाल टेलिकमको जस्तै हो भन्ने लाग्दो रहेछ,” उनले भने।
“त्यसैले होला उहाँहरूले हामीलाई फलानाको नम्बर चाहियो भनेर सोध्नु हुन्छ।”
५. ‘नो भोटको व्यवस्था किन नगरेको?’
कर्मचारीका अनुसार कल सेन्टरमा दैनिकजसो सोधिने अर्को प्रश्न हो- ‘नो भोटको व्यवस्था किन नगरेको?’ भन्ने।
“नो भोटबारे पनि धेरैलाई चासो रहेको देखिन्छ। उहाँहरू हामीलाई कसैलाई भोट हाल्न मन छैन किन नो भोटको व्यवस्था नगरेको? भनेर सोध्नुहुन्छ,” पुडासैनीले भने।
सर्वोच्च अदालतले आठ वर्षअघि नै कुनै पनि उम्मेदवार आफूलाई मन नपरेको भन्ने मत जाहेर गर्न पाउने व्यवस्था गर्न निर्देशनात्मक आदेश दिइसकेको छ।
तर त्यससम्बन्धी कानुन नबनेको भन्दै आयोगले त्यसलाई लागु गरेको छैन।
राजनीतिक दलहरूले चाहिँ “नो भोटमा सैद्धान्तिक सहमति” रहेको तर अहिले नै लागु गर्ने बेला नभएको बताउँदै आएका छन्।
यद्यपि कतिपय विश्लेषकहरू “दलहरूलाई नो भोटमा बढी मत खस्न सक्ने डर भएका कारण” तयार नभएको बताउँछन्।
कल सेन्टरका कर्मचारीहरू चाहिँ ‘नो भोट’बारे जिज्ञासालाई पनि सुझावका रूपमा समेटिएको बताउँछन्।
अन्य जिज्ञासाहरू
कर्मचारीहरूका अनुसार उम्मेदवारी दर्ताअघि र दर्ताको समयावधिमा उम्मेदवारीबारे धेरै जिज्ञासा आउने गरेको थियो।
त्यस बेला कतिपय फौजदारी अभियोग खेपेका तथा अभियोग लागेर सजाय काटिसकेका व्यक्तिले पनि “म उठ्न पाउँछु कि पाउँदिन” भनेर प्रश्न सोध्ने गरेको पुडासैनीले बताए।
त्यस्तै ठेकेदारहरू तथा विभिन्न समितिमा रहेकाहरूले उठ्न पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न पनि धेरै आएको थियो।
अहिले पनि कतिपयले आफ्नो क्षेत्रका उम्मेदवारबारे कसरी उजुरी गर्न सकिन्छ भन्ने प्रश्न सोध्ने गरेको कर्मचारीहरू बताउँछन्।
निर्वाचन आयोगका अनुसार उक्त कल सेन्टर निर्वाचन सम्पन्न हुने बेलासम्म कायम रहनेछ।
(बिबिसि न्युज नेपालि बाट साभार)