बूढानीलकण्ठ, चैत्र २५ गते ।
बूढानीलकण्ठ नगरपालिकामा चैत्र २७ गते बैशाख ११ गते सम्म टाईफाईड रोग विरुद्धको खोप अभियान सञ्चालन हुन लागेको छ । टाईफाईड रोग विरुद्ध खोप अभियान २०७८/०७९ अन्तर्गत अभियान सञ्चालनको तयारी पुरा भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका भर एकै चरणमा २०७८ चैत्र २७ देखि २०७९ वैशाख ११ गते भित्र सम्पन्न गर्ने भएकाले सोही अनुसार बूढानीलकण्ठ नगरपालिकाका १३ वटै वडामा तालिका बनाएर सञ्चालन गरिने जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहालले बताउनुभयो ।
महाशाखाको अनुसार नगरपालिका अर्न्तगतका सबै विद्यालयमा सम्बन्धीत वडाका स्वास्थ्य चौकीद्वारा १५ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई टाइफाईड विरुद्धको १ मात्रा खोप लगाइने छ ।
नगरपालिका जनस्वास्थ्य महाशाखाले बिहीबार नगरपालिका जनप्रतिनिधि, जिल्ला खोप समन्वय समिति, स्वास्थ्यकर्मि र सञ्चार क्षेत्रका प्रतिनिधीलाई अभिमुखीकरण गराउँदै अभियान बारे जानकारी गराएको थियो ।
अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख उद्धव प्रसाद खरेलले नगरवासिलाई स्वस्थ र निरोगि बनाउनका लागि खोप अभियानले मद्धत गर्ने बताउनुभयो । खोप कार्यक्रम महत्वपूर्ण रहेकाले सरोकारबाला सबैलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गर्नुभयो । मानिस स्वस्थ भएमा हरेक काम गर्न सक्ने भएकाले स्वस्थ हुनका लागि खोप अनिवार्य रहेको बताउनुभयो ।
बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा लगि टाइफाईड खोप अनिवार्य लगाउनुहुन प्रमुख खरेलले सुचना जारि गर्दै सबैमा अपिल समेत गर्नु भएको छ ।
खोप लगाउने निश्चित मिति र स्थानको बारेमा जानकारी लिन नजिकैको स्वास्थ्यचौकी / शहरी स्वास्थ्य केन्द्र / आधारभूत स्वास्थ्य केन्द्र, विद्यालय वा वडा कार्यालयमा सम्पर्क गर्नुहुन सबैमा अनुरोध गरिएको छ ।