बूढानीलकण्ठ, माघ २१ गते । बूढानीलकण्ठ नगरपालिकामा उद्यम परामर्श तथा सहुलियत कर्जा सहजिकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता-Generate Your Business/ Start Your Business तालिम सुरु भएको छ ।
‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमि युवा’ नारा सहित नगरपालिका युवा परिषदको आयोजना र राष्ट्रिय युवा परिषद तथा प्रभु बैंकको सहकार्यमा युवाहरुको लागि ८ दिने तालिम सञ्चालन भएको हो । तालिममा नगरपालिकाका उद्यम गर्न ईच्छुक १८ जना युवाहरु सहभागि छन् ।
व्यवसायिक सीप युवा उद्यमशीलताको आधार युवा रोजगार आत्मनिर्भर अर्थतन्त्रको पूर्वाधार भन्ने मुल उद्देश्यका साथ सञ्चालन भईरहेको तालिममा युवाहरुलाई उद्यमशीलताका प्रकार, उद्यमको विशेषताहरु पहिचान, अवसरहरू वितरित संशाधनहरू, मूल्य सृजना लगायत वित्तिय साक्षरता सम्बन्धी विस्तृत प्रशिक्षण तथा परामर्श दिईन्छ, राष्ट्रिय युवा परिषद प्रमुख प्रशासकिय अधिकृत डा. बाबुराम ढुङ्गानाले जानकारी दिनु भयो, ” तालिम पश्चात प्रशिक्षार्थिहरुको उद्यम परियोजना अनुसार वित्तीय सहयोगमा समेत बैंकहरुसँग समन्वयको भुमिका निर्वाह गर्छौँ”।
नगर युवा परिषद उपाध्यक्ष रुपेश भट्टराईका अनुसार उद्यमीहरुले बजार क्षेत्रमा देख्ने अवसरहरू र ती अवसरलाई प्राप्त गर्नसक्ने श्रेयता र त्यही श्रेयता उचित समयमा उचित ठाउँमा गर्नसक्ने कौशलताबाट उसको उद्यमशीलता झल्किने हुँदा नगरपालिकाका युवाहरुलाई प्रशिक्षित गरि आत्म निर्भर बनाउन यस तालिम सञ्चालन गरिएको हो ।
नगरपालिका वडा नं ०६ स्थित छाहारी भवनमा सञ्चालन भइरहेको ८ दिने तालिमको नगर प्रमुख उद्दव प्रसाद खरेल, राष्ट्रिय युवा परिषद प्रमुख प्रशासकिय अधिकृत डा. बाबुराम ढुङ्गाना, तालिम तथा समन्वय शाखा प्रमुख उपसचिव दिनेश घिमिरे, नगर युवा परिषद उपाध्यक्ष रुपेश भट्टराई, बूढानीलकण्ठ उद्यम तथा पर्यटन शाखा प्रमुख भोला ढुङ्गाना, उद्यम सहजकर्ता जनार्दन मिश्र लगायत प्रशिक्षक अर्जुन भट्टराई र समुन अर्यालको उपस्थितिमा उद्घाटन गरिएको थियो ।
नेपाल सरकारबाट युवा उद्यमशीलताको विकास र स्वरोजगारका लागि जारी गरिएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ को कार्यान्वयनका लागि सहजीकरण गर्ने सन्दर्भमा राष्ट्रिय युवा परिषदबाट उद्यमशीलता विकास तथा वित्तीय साक्षरता सम्बन्धी ८ दिने नि:शुल्क तालिम सञ्चालन भएको हो ।
यस तालिम पश्चात प्रशिक्षार्थिहरुलाई सहुलियतपूर्ण कर्जा जस्ता वित्तीय सहयोगको लागी सहकार्यमा रहेको वित्तीय संस्था प्रभु बैंकले समन्वय गर्ने बैंक र नगर युवा परिषद विच सम्झौता भएको छ ।