बूढानीलकण्ठ, माघ ०२ गते । बूढानीलकण्ठ नगरपालिकाले किशोरिहरुलाई आत्मरक्षा तालिम दिएको छ । नगर युवा परिषदको आयोजना र नेपाल महिला एकता समाज तथा नेपाल सेल्फ डिफेन्स को सहकार्यमा नगरपालिका अन्तर्गत रहेका विभिन्न विद्यालयको ३५ जना किशोरिहरुलाई २ दिने आत्मरक्षा सम्बन्धि तालिम प्रदान गरिएको हो ।
किशोरिहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसँग परिचित गराई आत्ममनोबल उच्च बनाउने उद्देश्यसहित प्रशिक्षण दिएको आयोजक बूढानीलकण्ठ नगर युवा परिषदले जानकारी दिएको छ ।
महिला तथा किशोरी माथी हुने घरेलु, समाजिक, विद्यालय लगायत सार्वजनिक स्थानहरुमा हुने हिंसा र दुर्व्यवहारलाई न्युनिकरण तथा प्रतिकार गर्न यस तालिमले किशोरिहरुलाई मद्दत गर्ने छ, प्रशिक्षक सञ्जु महर्जनले जानकारी दिनु भयो,” यस तालिममा हामिले किशोरिहरुलाई शारिरिक हिंसाबाट आफुलाई रक्षा गर्न उपयोग हुने मार्सल आर्ट्सका उपायहरु सिकाएका छौेँ ।
यस किसिमको प्रशिक्षणबाट थप जागरूकता, मौखिक रक्षा, झूटा आरोप तथा आत्मसमर्पण रक्षा, शारीरिक रक्षा, र कानूनी रक्षा सम्बन्धी विषयमा प्रशिक्षित भई उच्च मनोवलका साथ अगाडि बढ्न प्रेरित भएको प्रशिक्षार्थि गणेश मा.वि. कि छात्रा रविना लिम्बुले बताईन् ।
२ दिने तालिम नगरप्रमुख उद्दव प्रसाद खरेल, उपप्रमुख रमा देवि राई, नगर युवा परिषद उपाध्यक्ष रुपेश भट्टराई तथा नगरपालिका शिक्षा शाखा प्रमुखको उपस्थितिमा समापन गरिएको थियो । प्रशिक्षणको समापन समारोहमा प्रशीक्षार्थिहरुले आफुले सिकेका सिपहरुको प्रदर्शन समेत गरेका थिए ।