बूढानीलकण्ठ नगरपालिका वडा नं १ मा पर्यटन प्रवर्धनको लागि पार्क निर्माणको लागि सर्वेक्षण भएको छ। नगरपालिकाको उत्तरी भेग मा रहेको पर्यटकिय क्षेत्र वडा नं १ स्थित डुकुर्नी देवि सामुदायिक बनमा वडा कै पहिलो पार्क निर्माण गर्ने योजना बनेको हो। यस पार्क निर्माण प्रकियाको पहिलो चरण सर्वेक्षण सकिएको छ।
पर्यटकिय आकर्षण रहेको यस वडामा बिभिन्न धार्मिक, मौलिक, सांस्कृतिक तथा भौतिक सम्पदाहरु रहेता पनी अहिले सम्म कुनै पार्कहरु नभएको परिवेशमा वडाले पार्क निर्माण योजना तयार गरेको हो। यस योजना अनुसार पार्क को डिजाईन पर्यावरण अनुकूल रहने र भ्यु टावर, बुद्दको प्रतिमा, पिकनिक स्थल जस्ता भौतिक पुर्वाधारहरु निर्माण हुने छ।
कुल ११ हेक्टर क्षेत्रफलमा रहेको डुकुर्नी सामुदायिक वनको २५ रोपनीमा पार्क निर्माण हुन लागेको हो। ऐतिहासिक महत्व रहेको डुकुर्नी सामुदायिक वन क्षेत्रमा निर्माण हुने यस पार्कको नाम “डुकुर्नी पार्क” रहने वडा अध्यक्ष सुरेन्द्र लामा ले जानकारी गराउनु भयो। अध्यक्ष लामाले बूढानीलकण्ठ न्युज संगको स्थलगत कुराकानीमा पार्कको लागि नगरपालिकाको आन्तरिक बजेटबाट १ करोड बिनियोजन हुने तथा थप बजेट केन्द्र सरकारबाट माग गर्ने योजना रहेको र मागको प्रकृया सुरु भईसकेको बताए। “यस योजनाको डि.पि.आर. एक महिना भित्र तयार भए लगतै निर्माणको काम थालनी हुने छ”, उनले जोडे।