बूढानीलकण्ठ, मंसिर २६ गते । बूढानीलकण्ठ नगरपालिका वडा नं ०९ मा अमर युवा क्लब देखि धोविखोला करिडोर सम्मको बाटो बिस्तारको क्रममा जनसहभागिताको उदाहरणिय कार्य देखिएको छ । वडाको यस क्षेत्रमा साघुरो बाटोलाई फराकिलो बनाउनका लागि उपभोक्ताहरुले आफ्नो घर र जग्गामा पर्ने केहि क्षेत्रफल जमिन दान गरेर नगर विकासमा उल्लेखनीय योगदान गरेका छन् ।
स्थानीय सरकार र उपभोक्ता समितिबिचको सहकार्यमा १२ फिट बाटोलाई चौडा गरेर १७ फिट बनाउन लागिएको हो ।बाटो बिस्तारको क्रममा स्थानीय उपभोक्ताहरुले आफ्नो क्षेत्रफलमा पर्ने २ देखि ५ फिट जमिन आफ्नो खुसी छोडेको र नगर विकासको लागी आवश्यक सहयोग गर्न नागरिक समाज हरदम तयार रहेको स्थानीहरुले बताए ।
नगरपालिकाको वडा नं. ०९ देखि वडा नं. ०८, १०, १३ र ०२ सम्म जोड्ने यस प्रवेश मार्ग साघुरो हुँदा सवारी जामका कारण समस्याग्रस्त रहेको थियो ।
करिब ६०० मिटर लम्बाई रहेको उक्त सडक खण्ड स्तरोन्नतिका लागी वडा नं.०९ र उपभोक्ता समितिहरु बिच बृहत छलफल गरी वडा नं. ०९ को बिनियोजित बजेट ६० लाखमा काम सुरु भएको वडा नं. ०९ कार्यबाहक अध्यक्ष सुमित्रा त्रिपाठिले बताउँनुभयो । यस कार्यको लागि उपभोक्ताहरुले गर्नुभएको सहयोगका निम्ति वडा कार्यालय र नगरपालिका परिवार आभारी रहेको त्रिपाठिले भन्नुभयो ।
“सडकलाई दुई खण्डमा विभाजित गरी अमर युवा क्लब देखि राधाकृष्ण मंदिर सम्मको १६० मिटर बाटोलाई १२ फिट बाट १७ फिट विस्तार भईरहेको छ र बाँकि रहेको निखिलेश्वर मंदिर देखि धोविखोला करिडोर सम्मको ४०० मिटर बाटो ८ ईन्च ढलान हुदैँ छ”, वडा नं. ०९ ईन्जिनियर खगेन्द्र श्रेष्ठले जानकरी दिनुभयो, “दिर्घकालिन रुपमा सडक फराकिलो बनाएर नमुना सडक बनाउने लक्ष्य अनुसार निर्माण कार्य भईरहेको छ र यसको हामिले नियमित निरिक्षण पनि गरिरहेका छौँ” ।