बूढानीलकण्ठ नगरपालिकामा मतदाता नामावली अध्यावधिक गर्ने बिषयमा सर्वदलिय बैठक सम्पन्न भएको छ। बैठकमा मतदाता नामावलिको नाम, जन्म मिति, ठेगाना जस्ता विवरणहरुमा आएका त्रुटिहरु सच्चयाउने, दोहोरो परेका नामहरु हटाउने सम्बन्धि छलफल भएको थियो।
संघिय सरकारले आगामी बैशाखमा तोकेको निर्वाचन प्रयोजनका लागि सबै स्थानीय तहहरुमा नामावली अद्यावधिक गर्ने घोषणा गरे संगै बूढानीलकण्ठ नगरपालिकामा पनि मतदाता नामावली अद्यावधिक कार्याक्रम सञ्चालन हुन लागेको हो। बूढानीलकण्ठ नगरपालिकाको मतदाता नामावलिमा त्रुटि भएका व्यक्तिहरुको विवरण सच्याउन र नागरिकता त्याग गरेका, बसाँई सरि गएको तथा मृत्यु भएका मतदाताको विवरण स्थानिय पदाधिकारीबाट प्राप्त गरी आवश्यक परेमा मतदाता नामावलीबाट हटाउने बैठकमा निर्णय भएको थियो।
कार्याक्रम निर्वाचन आयोगले तोकेको मिति अनुसार माघ १५ गते देखि २६ गते सम्म सञ्चालन हुने छ। नगरपालिकाले मतदाता नामावलीमा त्रुटि भएका व्यक्तिहरुलाई सहायक नाम दर्ता अधिकारीको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
‘स्थानीय समन्वय तथा प्रचार प्रसार समिति’ संयोजक बूढानीलकण्ठ नगरपालिका नगर प्रमुख उद्दव प्रसाद खरेलको अध्यक्षतामा भएको यस बैठकमा नगर उप-प्रमुख रमा देवि राई, नगरपालिका प्रशासकिय अधिकृत जयराम गजुरेल, नेपाल काङ्ग्रेस प्रतिनिधी अच्युत पौडेल, राष्ट्रिय प्रजातान्त्रिक पार्टि (राप्रपा) प्रतिनिधी श्याम बहादुर खत्रि, जनमोर्चा पार्टि प्रतिनिधी छवि खनाल, बूढानीलकण्ठ प्रहरी प्रभाग प्रमुख राजकुमार तामाङ लगायत सहायक नाम दर्ता अधिकारी सत्यराज जोशीको उपस्थिति रहेको थियो।