बूढानीलकण्ठ, मंसिर १२ गते । बूढानीलकण्ठ नगरपालिका सहकारी विकास शाखाले साधारण सभाबाट निर्णय गराएर मात्र गर्नुपर्ने विषयहरु बारे सहकारी संघसस्थाहरुलाई जानकारी मुलक सुचना जारी गरेको छ ।
बूढानीलकण्ठ नगरपालिकाको सहकारी ऐन २०७५ को दफा २७ मा अन्य कुराका अतिरिक्त सहकारी संस्थाको आन्तरिक कार्यविधि पारित गर्ने, बार्षिक कार्यक्रम तथा बजेट स्विकृत गर्ने, पारिश्रमिक लगायतका सुविधा तोक्ने, बाह्य दायित्व स्विकार गर्ने र सदस्यको दायित्व मिनहा दिने कुराहरु साधारण सभाले मात्र गर्न सक्ने व्यवस्था रहेको छ ।
अतःकानुनमा भएको उक्त व्यवस्था कार्यान्वयनका लागि देहायबमोजिम गर्न गराउनुहुन सबै सहकारी सस्थाहरुलाई अनुरोध गरिएको छ ।
१. जुनसुकै आन्तरिक कार्यविधि साधारण सभाबाट पारित गराएर मात्र लागु गर्ने ।
२. बार्षिक कार्यक्रम तथा बजेट र सोमा हुने संसोधन समेत साधारण सभाबाट स्विकृत भएपछि मात्र कार्यान्वयन गर्ने ।
३. सञ्चालक समिति, लेखा समिति वा अन्य समिति वा उपसमितिका पदाधिकारीहरुका साथै व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक वा सुविधा साधारण सभाबाट तोकेर मात्र खर्च गर्ने ।
४. साधारण सभाको निर्णयविना सदस्यको दायित्व मिनाहा नदिने ।
५. ऐनका प्रावधानसँग बाझिएका विनियमका प्रावधानहरु यथाशिघ्र संशोधनको व्यवस्था मिलाउने ।