बूढानीलकण्ठ, कार्त्तिक २९ गते ।
विश्वमै सबैभन्दा ठूलो कलात्मक हरि र हरले युक्त ढुङ्गाको मूर्ति रहेको बूढानीलकण्ठ मंदिरमा आजबाट पाँच दिने हरिबोधनी एकादशी मेला सुरु भएको छ । कोभिड-१९ महामारीका कारण २ बर्ष देखि स्थगित भएको मेला यस बर्ष पुनः सञ्चालनमा आएको हो ।
बूढानीलकण्ठ नारायणस्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्ने गर्दछ । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ठ दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गरेको छ ।
यो समयमा यस क्षेत्रमा सक्रिय संस्थाले सामूहिक रुपमा विशेष मेला चलाउने गरेका छन् । यसका लागि सबै संस्थाको प्रतिनिधित्व हुने गरी एकसय एक सदस्यीय हरिबोधनी एकादशी मेला सञ्चालन मूल समारोह समिति नै गठन गरिएको बूढानीलकण्ठ नारायणस्थान व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्काले बताउँनुभयो ।
मेलाकै अवसर पारेर कार्त्तिक २७ गते शनिबारदेखि सातदिने श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ पनि सुरु गरिएको बूढानीलकण्ठ मंदिर मठाधिश एवम् संरक्षक श्री १००८ स्वामि निगमानन्द महाराजले जानकारी दिनुभएको छ । सप्ताहमा बूढानीलकण्ठको महत्व बुझाउने जानकारीमूलक प्रवचन पनि भइरहेको छ ।
कार्त्तिक २९ गते बाट सुरुहुने मेलामा भक्तजनहरुको सहजताका लागि सोधपुछ कक्ष, पार्किङ एरिया, स्वास्थ्य सिविर, चिया\खानेकुरा स्टल, मनोरञ्जन स्टल जस्ता व्यवस्थाहरु मिलाईएको सनातन धर्म सेवा समाज बूढानीलकण्ठका अध्यक्ष एवम् मुल समारोह समितिका अनुगमन उप-समिति संयोजक विकास लामाले जानकारी दिनुभयो, “यी सबै सेवाहरुको व्यवस्थापनका लागि बिद्यालय, स्काउट, युवा क्लब लगायत विभिन्न संघ संस्थाबाट ४०० भन्दा बढि स्वयंसेवकहरु परिचालन गरिएको छ” ।
मंसिर ३ गतेसम्म सञ्चालन हुने हरिबोधिनी एकादशी मेलामा सांस्कृतिक झाँकीसमेत प्रदर्शन भइरहेको छ । आषाढ शुक्ल पूर्णिमाका दिन क्षीर सागरमा शयन गर्नुभएका भगवान् विष्णु कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन जागा हुनुहुने भएकाले यो एकादशीलाई हरिबोधिनी भनिएको हो । यो चार महिनाको समयलाई चतुर्मास पनि भनिन्छ । यस समयमा व्रत गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।