बूढानीलकण्ठ, कार्त्तिक १७ गते । “मेरो गणना, मेरो सहभागिता” नारा सहितको राष्ट्रिय जनगणना २०७८ लागी चार दिने गणक तालिम सम्पन्न भएको छ । बूढानीलकण्ठ नगरपालिका शनिवार बाट सुरु भएको तालिममा १८६ जना गणकले तालिम लिएका छन् । तालिम वडा नं ०३ स्थित बूढानीलकण्ठ माध्यामिक बिद्यालयमा सञ्चालन भएको थियो ।
चार दिने तालिममा गणकको काम, कर्तव्य, अधिकार तथा सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइएको बूढानीलकण्ठ नगरपालिका जनगणना अधिकारी भोला ढुङ्गानाले जानकारी दिनु भएको छ ।
तालिममा परिवारको कल्पना गरेर फाराम भर्न, गणक–गणकबिच लोक अन्तर्वार्ता लिन र तालिम अवधिभर ६ पटकसम्म अभ्यास गराइ गणकहरुलाई काममा खटिने गरी तयार गरिएको छ।
तालिम पश्चात गणकहरु सुपरिवेक्षकहरु द्वारा सुचिकरण गरेका घर, परिवार र व्यक्तिहरूको जनगणना मुख्य प्रश्नावलि फारम भर्ने काममा खटिने ढुङ्गानाले बताउनुभयो ।
जनगणना सहजकर्ता तथा नगरपालिका शाखा अधिकृत शावित्रा गौतमका अनुसार कात्तिक २५ गतेबाट मङ्सिर ९ गतेसम्म हुने मूल जनगणनामा ४१ सुपरिवेक्षक र १८७ जना गणकहरुलाई आफ्नो कार्य क्षेत्र तोकिदिएको जानकारी दिनु भएको छ । समयावधि भित्रनै जनगणनाको सम्पुर्ण काम सम्पादन गरी संकलन भएका तथ्याङ्क केन्द्रिय कार्यालयमा पेश गर्न बूढानीलकण्ठ नगरपालिकाको टोलि निरन्तर लागि परिरहेको समेत बताउनुभयो ।
नगरपालिकाको भूभाग भित्र रहेका घर, परिवार र व्यक्तिहरू सम्पूर्ण को गणना गर्ने बृहत् तथ्याङ्क संकलन कार्यक्रममा मुख्य प्रश्नावली फाराम भर्न घर-घरमा आउने कर्मचारीहरूलाई सही विवरण उपलब्ध गराई सहयोग गरी दिनु हुनका साथै आफ्ना टोलवासी/ छिमेकीहरूलाई जनगणनामा सहभागी हुन जानकारी दिई राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न सबै उत्तरदाताहरूमा नगरपालिकाले अनुरोध गरेको छ ।