“मेरो गणना, मेरो सहभागिता” नारा सहितको राष्ट्रिय जनगणना २०७८ मा सहभागी भई सहयोग गरिदिनुहुनको लागि नेपाल सरकार केन्द्रीय तथ्ताङ्क विभागले अनुरोध गरेको छ ।
२०७८ साल भाद्र २६ देखि असोज १८ गते सम्म घर तथा घरपरिवार सूचीकरण फाराम र कार्तिक २५ देखि मंसिर ९ गते सम्म मुख्य प्रश्नावली फाराम भर्न घर-घरमा आउने कर्मचारीहरूलाई सही विवरण उपलब्ध गराई सहयोग गरी दिनु हुनका साथै आफ्ना टोलवासी/ छिमेकीहरूलाई जनगणनामा सहभागी हुन जानकारी दिई राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न सबै उत्तरदाताहरूमा केन्द्रीय तथ्यांक विभागले अनुरोध पत्र जारी गरेको हो ।
अनुरोध पत्रको पुर्ण पाठ
आदरणीय उत्तरदाताहरू,
प्रत्येक दश वर्षमा एक पटक हुने राष्ट्रिय जनगणनाको बाह्रौं श्रृङ्खलामा हामी प्रवेश गरेका छौं । जनगणना मुलुकको भूभाग भित्र रहेका सम्पूर्ण घर, परिवार र व्यक्तिहरूको गणना गर्ने एक बृहत् तथ्याङ्क संकलन कार्यक्रम हो । यसबाट स्थानीय तहका वडास्तरसम्मका सम्पूर्ण जनसांख्यिक, सामाजिक, आर्थिक र लैङ्गिक तथ्याङ्कहरू प्रकाशन गर्न सकिन्छ । जनसंख्याको आकार, प्रकार र संरचनाकै आधारमा राज्यले आवश्यकता पहिचान गरी सडक, विद्यालय, स्वास्थ्य केन्द्र, बैंक/वित्तीय संस्था जस्ता विभिन्न सेवा केन्द्रहरूको स्थापना गर्ने गरिन्छ भने निजी संस्थाहरूले पनि सम्भाव्यताको अध्ययन गरी आफ्ना व्यापार/व्यवसाय विस्तार गर्ने गर्दछन् । यस्तै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य संख्या यकिन गर्न, सामाजिक सुरक्षा कार्यक्रम बनाउन, समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न र केन्द्र सरकारबाट प्रदेश सरकार र स्थानीय तहमा स्रोत परिचालन गर्न पनि जनगणनाबाट प्राप्त हुने तथ्याङ्कको व्यापक प्रयोग हुने गर्दछ । त्यसकारण, जनगणनामा हामी सबैको अपनत्व र सहभागिता जरूरी छ ।
जनगणनामा सोधिने सम्पूर्ण व्यक्तिगत विवरण तथ्याङ्क ऐन, २०१५ अनुसार गोप्य राखिने छ र सामूहिक रूपमा मात्र प्रकाशनमा ल्याइने छ । जनगणना जस्तो बृहत् सार्वजनिक सम्पत्ति निर्माण कार्यका लागि २०७८ साल भाद्र २६ देखि असोज १८ गते सम्म घर तथा घरपरिवार सूचीकरण फाराम र कार्तिक २५ देखि मंसिर ९ गते सम्म मुख्य प्रश्नावली फाराम भर्न घर-घरमा आउने कर्मचारीहरूलाई सही विवरण उपलब्ध गराई सहयोग गरी दिनु हुनका साथै आफ्ना टोलवासी/ छिमेकीहरूलाई जनगणनामा सहभागी हुन जानकारी दिई राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न सबै उत्तरदाताहरूमा हार्दिक अनुरोध गर्दछु ।
महानिर्देशक
केन्द्रीय तथ्याङ्क विभाग