बूढानीलकण्ठ नगरपालिका अन्तर्गत संचालित विद्यालयहरूले भाद्र २७ देखि भौतिक कक्षा संचालनमा ल्याउन सक्नेछन । भाद्र १७ गते नगरप्रमुखकाे अध्यक्षतामा नगरपालीका अन्तर्गत संचालित सामुदायिक विद्यालयका प्र.अ. , प्याब्सन, पेट्सान, तथा शिक्षा समितिका पदाधिकारीहरु सहितको संयुक्त बैठकले साे निर्णय लिएकाे हाे ।
प्रत्येक विद्यालयले विद्यार्थी संख्या र विद्यालयको भौतिक अवस्था आंकलन गरी विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, वडा प्रतिनिधि र स्वास्थ्यकर्मीको परामर्श र सहभागितामा विस्तृत कार्ययोजना निर्माण गरी एक हप्ता भित्रमा आवश्यक छलफल सहित निर्णय गरेर शिक्षा शाखामा बुझाएपछि मात्रै तोकिएको मितिदेखि कक्षा संचालन गर्ने पाइनेछ।
स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरुलाई पालना गरी विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा आलोपालो प्रणालीमा कक्षा संचालन गर्ने सकिनेछ । कोभिड १९ को जोखिमको अवस्था विश्लेषण गरी आफ्नो विद्यालयको कुल क्षमताको ३३ प्रतिशत विद्यार्थी उपस्थित हुनसक्ने गरी माथिल्लो कक्षाहरुबाट पठन पाठन शुरु गर्ने सकिनेछ । तर, कुनै विद्यालयका विद्यार्थी संख्या एक पटक उपस्थित हुँदा भौतिक दूरी कायम गरी पठन पाठन गर्न सकिने व्यवस्था भएमा एकै पटक पनि संचालन गर्न सकिनेछ ।
विद्यालयहरुले विद्यालय सरसफाई र डिस इन्फेक्ट गर्ने र विद्यालय हाताभित्र साबुन पानीले हात धुने वा सेनटाइजर लगाएर मात्र विद्यार्थीहरुलाई कक्षामा प्रवेश गराउने साथै नियमित दैनिक रुपमा कोभिड १९ को लक्षणकाे जाँच गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
भौतिक कक्षाका साथै पहिले देखि संचालन हुदै आएका अनलाईन कक्षाहरुलाई पनि निरन्तरता दिइने छ। स्कुल बसको सन्दर्भमा डिस इन्फैक्ट सिट क्षमता भन्दा बढी विद्यार्थी नराख्ने गरेर संचालन गर्न सकिनेछ ।
यसका साथै, नगरपालीकामा पेश गरेको विद्यालय पुनः संचालन योजना अनुसार विद्यालय संचालन भए नभएको अनुगमन नगरपालीका र वडाबाट गरिने नगरप्रमुखले बताएका छन् ।