बूढानीलकण्ठ नगरपालिकाभित्र संचालित विद्यालयहरु संचालन गर्न नगरपालिकाले निर्देशन दिएको छ ।
भाद्र १७ गते बूढानीलकण्ठ नगरपालिका अन्तर्गत संचालित सामुदायिक विद्यालयका प्र.अ. प्याब्सन, एन प्याब्सन, पेट्सान तथा शिक्षा समितिका पदाधिकारीहरु लगायतका महानुभावहरुको संयुक्त बैठक नगरप्रमुख श्री उद्धब प्रसाद खरेलज्यूको अध्यक्षतामा बसी विद्यालय संचालन सम्बन्धी हाललाई निम्न कार्यहरु गर्ने गराउने सम्बन्धमा विद्यालयहरुलाई परिपत्र / निर्देशन दिने निर्णय भएको हो ।
निर्णय बमोजिम कार्यान्वयन गर्नुहुन बूढानीलकण्ठ नगरपालिका क्षेत्र भित्र रहेका सबै विद्यालयहरुलाई शिक्षा महाशाखाले अनुरोध गरेको छ ।
पुर्ण पाठ:
निर्णयहरु,
१. आफ्नो सेवा क्षेत्रमा कोभिड १९ को संक्रमणको अवस्थालाई मध्यनजर गरी प्रत्येक विद्यालयले विद्यार्थी संख्या र विद्यालयको भौतिक अवस्था आंकलन गरी विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, वडा प्रतिनिधि र स्वास्थ्यकर्मीको परामर्श र सहभागितामा विस्तृत कार्ययोजना निर्माण गरी एकहप्ता भित्रमा आवश्यक छलफल सहित निर्णय गरेर शिक्षा शाखामा बुझाएपछि मात्र विद्यालयहरुले मिति २०७८/०५/२३ गतेदेखि कक्षा संचालन गर्ने ।
२. सामाजिक तथा भौतिक दुरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सवै मापदण्डहरुलाई पालना गरी पूर्ण सतर्कता र सजगताको अबलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा आलोपालो सिफटवाईज प्रणालीमा कक्षा संचालन गर्ने ।
३. विद्यालयहरुले विद्यालय सरसफाई र डिस इन्फेक्ट गर्ने र विद्यालय हाताभित्र साबुन पानीले हात धुने या सैनिटाइजर लगाएर मात्र विद्यार्थीहरुलाई कक्षामा प्रवेश गराउने साथै नियमित (दैनिक रुपमा कोभिड १९ को लक्षणहरुको चेकजांच गर्ने व्यवस्था गर्ने ।
४. अभिभावकसँग बालवालिका विद्यालय पठाउने सन्दर्भमा विद्यालयले व्यवहारिक कठिनाई, मनोवैज्ञानिक पक्ष र स्वास्थ्य मापदण्डको विषयमा परामर्श गरी अनुकूल वातावरणमा विद्यालय उपस्थित हुन सक्ने अवस्था सिर्जना गर्ने ।
५. कोभिड १९ को जोखिमको अवस्था विश्लेषण गरी आफ्नो विद्यालयको कुल क्षमताको ३३ प्रतिशत विद्यार्थी क्रमश: उपस्थित हुनसक्ने गरी माथिल्लो कक्षाहरुबाट पठन पाठन शुरु गर्ने तर कुनै विद्यालयका विद्यर्थी संख्या एक पटक उपस्थित हुँदा भौतिक दूरी कायम गरी पठन पाठन गर्न सकिने व्यवस्था भएमा एकै पटक पनि संचालन गर्न सकिनेछ ।
६. पहिले देखि संचालन हुँदै आएका अनलाईन कक्षाहरुलाई पनि निरन्तरता दिने ।
७. दैनिक रुपमा निमलिकरण गरेर (डिस इन्फैक्ट) सिट क्षमता भन्दा बढी विद्यार्थी नराख्ने गरेर स्कुल बस संचालन गर्न सकिनेछ ।
८. न. पा. मा पेश गरेको विद्यालय पुन: सचालन योजना अनुसार विद्यालय संचालन भए नभएको अनुगमन नपा र वडाबाट नियमित रुपमा गरिनेछ ।
९. यदि कुनै विद्यार्थी, शिक्षक वा कर्मचारीमा कोभिड १९ को लक्षण देखिएमा कोभिड परीक्षण गर्नको लागि विद्यालयहरुलाई नगर पालिकाले निःशुल्क रुपमा एन्टिजिन परीक्षण किट उपलब्ध गराउनेछ ।
१०. कोभिड १९ सम्बन्धी स्वास्थ्य समस्या कही कतै देखिएमा तत्काल सम्बन्धित स्वास्थ्य चौकी, वडा कार्यालय र नगरपालिका शिक्षा स्वास्थ्य शाखामा सम्पर्क गर्ने ।