बूढानीलकण्ठ नगरपालिकाको आठौ नगरसभाको बैठकबाट नगर कार्यपालिकाद्वारा तयार गरी पारित गरिएको आ.व २०७८\०७९ को अनुमानित आय २ अर्ब ९६ करोड १८ लाख (रु.२,९६,१८,००,०००/-) र अनुमानित व्यय तर्फ २ अर्ब ९६ करोड १८ लाख (रु.२,९६,१८,००,०००/-) चालु वर्षको लागि आम्दानी र खर्च गर्न विनियोजन भएको छ ।
गत आर्थिक वर्ष २०७७\७८ का लागि नगरपालिकाले २ अर्ब ६७ करोड ५१ लाख ३२ हजार रुपैयाँ बजेट ल्याएको थियो ।
बूढानीलकण्ठ नगरपालिकाको स्थापना पश्चात यो आठौँ बजेट विधेयक हो भने २०७४ वैशाख ३१ गतेको स्थानीय सरकार निर्वाचन पश्चात स्थापित नगरसभाले प्रस्तुत गरेको यो पाचौं र निर्वाजित जनप्रतिनिधिहरुको यस कार्यकालको अन्तिम बजेट हो । निर्वाचन पश्चात २०७४ असार १० गते पहिलो नीति कार्यक्रम प्रस्तुत गरिएको थियो ।
चार वर्षको अवधीमा विभिन्न बाधा अवरोध, उतारचढाव, समस्या, कोभिड १९ को महामारीको बीचमा भएगरेका निर्णय र कारवाहीको पारदर्शीता नगरपालिकाले खुलस्त गर्दै आएको छ । विगतमा प्रस्तुत गरिएको र कार्यान्वयन भएका चारवटा बजेटको कार्यान्वयन, प्रभावकारिता र उपलब्धीको समेत खुलेर छलफल गरी प्रस्तुत भएका बजेटको बारेमा सम्पूर्ण जनप्रतिनिधी, नगरसभा सदस्यहरुको सकारात्मक सल्लाह सुझाव अनुसार अघि बढेको हो ।
बूढानीलकण्ठ नगरपालिकाको प्राथमिकता प्राप्त गौरवको योजना मध्य बूढानीलकण्ठ नगर अस्पताल, कपन ह्याण्डबल बहुउद्देश्यीय खेल पूर्वाधार योजना, बूढानीलकण्ठ तरकारी खरिदबिक्री भण्डार, विभिन्न वडा कार्यालय भवन निर्माण, उज्यालो बूढानीलकण्ठ कोशेली घर निर्माण, स्वास्थ्य चौकी भवन र महत्वपूर्ण सडक योजनाहरुमा आवश्यक बजेट व्यवस्था गरिएको छ ।
वडा कार्यालयहरुले छनौट गर्ने योजनामा केही महत्वपूर्ण कार्यान्वयन छिट्टै गर्ने र सम्भव प्राथमिकताका योजनामा थप रकमको व्यवस्था मिलाईएको छ । आन्तरिक सहलगानी कोषमा आवश्यक रकम व्यवस्था गरिएको गरि केन्द्र र प्रदेश सरकारसंग मिलेर गरिने समपुरक योजनाको लागि ५ करोड व्यय अनुमान गरिएको छ ।
भौतिक पूर्वाधार, सामाजिक विकास क्षेत्र अन्तर्गत शिक्षा, स्वास्थ्य, मानवीय विकास अन्तर्गत महिला बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग, दलित, विपन्न क्षेत्रमा अधिकतम बजेट व्यवस्था मिलाईएको छ । कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामको लागि र आगामी दिनमा आउन सक्ने महामारीलाई ध्यानमा राखी स्वास्थ्य पूर्वाधारको बयवस्था मिलाउन विशेष ध्यान पुर्याईएको छ ।
आर्थिक विकास अन्तर्गत महिला, युवा उद्यमशिलता, पूर्वाधार र रोजगार वृद्धि क्षेत्रमा सहयोगका लागि बजेट व्यवस्था गरिएको छ ।
आर्थिक वर्ष २०७८\०७९ वर्षको अनुमानित आय अन्तर्गत आन्तरिक श्रोतबाट रु २७ करोड २० लाख, बाह्य श्रोतबाट रु. ६५ करोड ९४ लाख ४७ हजार मात्र राजश्व बाँडफाँडबाट रु. ७७ करोड ९६ हजार २ सय ६४ रुपैया ७५ पैसा मात्र तथा अन्य आम्दानी १ अर्ब २६ करोड २ लाख ५६ हजार ७ सय ३५ रुपैयाँ २५ पैसा मात्र गरी जम्मा रु. २,९६,१८,००,०००/- (अक्षरेपी रु दुई अर्थ छयानब्बे करोड अठार लाख मात्र कायम गरिएको छ ।
त्यस्तै अनुमानित व्यय तर्फ चालु खर्चको लागि २६ करोड र वडाबाट योजना छनौट गर्न ४० करोड ९५ लाख विनियोजन भएको छ ।
चालु आ.व मा टेण्डर भएका तर बजेट पुरा नभई बहुबर्षे योजनाको लागि नगर अस्पताल, कपन ह्याण्डबल, थोक कृषि बजार, वडा नं. ९ को सामुदायिक भवन रुद्रेश्वर महादेव खोला जोड्ने सडक कालोपत्रे, ईटालीटार सडक पिच र केही सडकहरुको बजेट भुक्तानीको लागि आवश्यक रकम छुट्याईएको छ ।
विषयगत् शाखा क्षेत्रका खर्चको लागि रु. ७ करोड १० लाख विनियोजन गरिएको छ । विविध नगरस्तरीय योजनाहरुको लागि रु. १३ करोड विनियोजन गरिएको छ । आ.व २०७८\०७९ को लागि विषयगत क्षेत्रहरुको हकमा जम्मा रु. ३५ करोड, ५ लाख ४३ हजार ५ सय रकम मध्ये पूर्वाधार विकासमा ४० प्रतिशत, खानेपानीमा १५ प्रतिशत, वन, वातावरण, फोहोरमैला तथा बिपद व्यवस्थापनमा १० प्रतिशत, सामाजिक विकासमा २० प्रतिशत आर्थिक विकासमा १० प्रतिशत र शुसासन तथा संस्थागत विकासमा ५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।