बूढानीलकण्ठ नगरपालिका कला, संस्कृति र सम्पदाका दृष्टिले उपत्यकाकै गौरव गर्नलायक नगरपालिका मध्येमा पर्दछ । भौगोलिकरूपले उपत्यकाको उत्तरी भेगमा रहेको यस नगरपालिकामा सांस्कृतिक विविधताका निकै महत्वपुर्ण हिस्साहरु छन् । प्रसिद्ध धार्मिक स्थल बूढानीलकण्ठ मंदिर, कपन गुम्बा, पाटिपौवा, सत्तल, शिवपुरी राष्ट्रिय निकुञ्ज देखि नेवार, तामाङ्, ब्राम्हिन, क्षेत्रि, राई जस्ता विभिन्न जातजातीको परम्परागत रुपमा मनाउने जात्रा, तामाङ्गसेलो, साकेला, भजन कृतनहरु यहाँको सभ्यताको महत्वपुर्ण अवयव हुन् ।
यहाँका महत्वपुर्ण कला, संस्कृति र सम्पदाको संरक्षण, प्रवर्धन र व्यवस्थापनको लागी नगरपालिकाबाट बिभिन्न किसिमका प्रयासहरु भई रहेका छन् । वडा, गुठि, संरक्षण समिति लगायत व्यवस्थापन समितिहरुलाई प्रचलित नियम र मापदण्ड अनुरुप व्यवस्थापन र पूनःनिर्माणका अधिकार दिनुका साथै नयाँ पुस्तालाई प्रशिक्षण दिने र अग्रजहरुको पर्यवेक्षणमा उनिहरुलाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्यहरु हरेक समुदायले गर्दै आएको पाईन्छ ।
यहि क्रममा बूढानीलकण्ठ नगरपालिकाको कला, संस्कृति र सम्पदाले भरिपुर्ण वडा नं ०२ को नेवार वस्ति वासिकु गाँउ स्थित सामुदायिक वन नजिकै रहेको पञ्चकन्या मंदिरमा ७ बर्षकि रमिता श्रेष्ठ आफ्नो हजुरआमा, आमा, काका, काकिहरु संग भजन कृतनमा लय मिलाईरहेकि देखिन्छिन् । हरेक सनिवार बिहानको नित्य पुजा आरधना पश्चात सुरुहुने भजन कृतनमा उनि लगायत गाँऊका उनकै उमेरका साथि र दाई-दिदिहरु पनी भजनमा गाएको-नाचेको हेर्दा आफ्नो कला र संस्कृति संरक्षण प्रति युवाहरुको चासो निकै प्रष्ट देखिन्थ्यो ।
स्थानीय अग्रज मानकाजि श्रेष्ठका अनुसार यस पञ्चकन्या मंदिर २०० बर्ष अघि स्थापना गरिएको थियो । “जंगलको यस भागमा गाई बस्तुहरु चराउन जाँदा वेपत्ता हुने र केहि दिन पछि फेरी आफै भेटिने गर्थ्यो”, उहाँले बताउनुभयो, “धार्मिक आस्थाका कारण दैविक शक्तिको प्रवाभ छ कि भनेर खोज भए पछि नुवाकोटका एक प्रसिद्द झाँक्रीको सल्लाह अनुसार यहाँ पञ्चकन्या माताको मंदिर स्थापना भएको ईतिहास छ” ।
पौराणिक हिसावले वासिकु गाँउको निकै मान्यता रहेको यस मंदिरमा बैशाख पुर्णिमा जात्रा, फाँगु पुर्णिमा, मंसिर पुर्णिमा लगायत दशैँ जस्ता मुख्य चाडपर्वहरुमा बिशेष पुजा हुने गर्दछ । नगरपालिकाभर भव्य रुपमा मनाईने जात्रा ‘जेष्ठ पुर्णिमा जात्रा ‘ को पहिलो दिन वासिकुँ गाउँको रथमा पञ्चकन्या मातालाई डिमे,बाँजा र नाचगान सहित गाँऊभर डुलाईने चलन रहेको छ । मंदिर स्थापना भए देखि गाँउमा पञ्चकन्या माताको आशिर्वाद लागेको आस्था स्थानीयले राखेका छन्।
करिव १३ पुस्ता अघि स्थापना भएको यस मंदिर आज भन्दा २० बर्ष अघि सम्म डुङ्गाको ओडारमा स्थापना गरिएको देउता पुजा गरिने चलन रहेको मंदिर निर्माण समिति अध्यक्ष काजि बाहादुर श्रेष्ठले बताउनुभयो । यसको संरक्षण गरी यहाँ मंदिरको स्वरुप दिने सोच अनुसार आफ्नै अगुवाईमा अग्रजहरुको सल्लाह अनुसार २०६० सालमा ओडारको संगै मंदिर निर्माण गरेको उहाँ बताउँनुहुन्छ ।
आफ्नो युवा उमेरमा सुरु गरेको यस मंदिर संरक्षण कार्यमा अहिले सम्म सक्रियताका साथ लागि परिरहेका उहाँले मंदिरको थप व्यवस्थापनको लागी वडा संग पहल गरी अहिले योजना सुरु भईरहेको जानकारी दिदैँ स्थानीय सरकार प्रति निर्माण समिति आभारी रहेको बूढानीलकण्ठ न्युज संगको अन्तर्वार्तामा बताउँनुभयो ।
वासिकु गाँऊ निवासी एवं वडा सदस्य राजेन्द्र श्रेष्ठका अनुसार मंदिर व्यवस्थापनको क्रममा निर्माण समिति, स्थानीय र वडाको समन्वयमा यस मंदिर क्षेत्र व्यवस्थापनको लागी ३ करोड बराबरको डि.पि.आर. तयार गरी काम सुरु भएको छ ।
संस्कृति, कला र सम्पदा मार्फत पर्यटन प्रवर्धन मा चासो राख्ने वडा नं ०२ अध्यक्ष राजेन्द्र खड्काले यस मंदिरको पौराणिक महत्व र वासिकु गाउँको मौलिक कला सांस्कृतिको जगेर्णा र प्रवर्धन स्वरुप यस योजनाको थालनि गरिएको बताउनुभयो ।
योजनाको सुरुवाति कामका लागी आर्थिक बर्ष २०७७\७८ मा स्थानीय सरकारबाट ५० लाख र प्रदेश सरकारबाट १५ लाख रुपैयाँ बजेट बिनियोजित भई मंदिर क्षेत्रको ३.५ रोपनी क्षेत्रफल भित्र गेट , सत्तल, भजन गृह र पाटी निर्माण कार्य भईरहेको छ । योजनाको बाँकि काम आर्थिक बर्ष २०७८\७९ मा थप बजेट विनियोजन गरी सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
मंदिरमा प्रत्यक सनिवार बिहान हुने भजन कृतनमा महिलाहरु सक्रिय रहेको पाईन्छ । महिला सक्रियतालाई थप हौसला प्रदान गर्न वडाबाट महिलाहरुको भजन समुहलाई हार्मोनियम, तबलाहरु प्रदान गरिएको वडा नं ०२ महिला सदस्य ज्ञानु कार्कीले जानकारी दिनु भयो ।
भजन कृतनमा ईच्छा राख्ने गाँउका महिलाहरुले कहिबाट पनी प्रशिक्षण नलिई आफैले सिकेर भजन सञ्चालन गरिरहेका छन् । उहाँहरुले भजनमा आफ्नो बालबच्चाहरु पनी संगै लिएर आफ्नो कला र संस्कृति उनिहरुलाई सिकाउदैँ आउनु भएको छ ।
अहिले भजन सानो कोठा भित्र सञ्चालन गर्दा निकै समस्या भईरहेकोले अब निर्माण हुने भजन गृहमा भजन कृतनमा सुधार गर्दै अझ व्यवस्थित गरी सञ्चालन गर्ने उहाँहरुको लक्ष्य रहेको भजन समुहकि पार्वति श्रेष्ठ बताउँनुहुन्छ ।