बूढानीलकण्ठ, असार ११ गते । बूढानीलकण्ठ नगरपालिकाका निवर्तमान सल्लाहकार सुन्दर पुर्कुटी राष्ट्रिय दलित आयोगको सदस्यका रूपमा नियुक्त हुनु भएको छ ।
स्थानीय सरकार गठन भएदेखि बुढानिलकण्ठ नगरपालिकाका सल्लाहकारका रूपमा आफ्नाे भूमिका निर्वाह गर्दै आएका पुर्कुटी २०७८/०१/२६ मा संवैधानिक परिषदबाट सिफारिस भई २०७८/०३/१० गते सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारी बाट नियुक्ति भई २०७८/०३/११ गते राष्ट्रिय दलित आयोगका माननीय अध्यक्षबाट सपथ लिई पदभार ग्रहण गर्नु भएको हो ।
पदभार ग्रहण पश्चात उहाँले सामाजिक सञ्जाल मार्फत आफ्नो जिम्मेवारीको लागि सिफारिस गर्ने संवैधानिक परिषद, नेपाल सरकार प्रति आभार व्यक्त गर्नु भएको छ । “देश लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भईसकेपनि पुरानो व्यवस्थाले थुपारेको सामाजिक र सांस्कृतिक बिकृतिहरु विध्यमान रहेको अवस्थामा त्यस्ता बिकृतिहरुलाई आफ्नो जिम्मेवारीमा रहेर देशको संविधान, ऐन, कानुनमा व्यवस्था भए बमोजिम दलित समुदायका अधिकारलाई सुनिश्चित गर्न प्रयत्न गर्ने प्रतिवद्दता जाहेर गर्नुे छु”, उहाँले बताँउनुभयो ।
आफ्नो अनुभव, ज्ञान र क्षमताले भ्याएसम्म ईमानदारीपूर्वक नागरिक समाज, राजनीतिक दलहरुसङ्गको उचित परामर्श, संयोजन र सह -कार्यका साथ दलित समुदायको समस्यालाई देशको साझा समस्या बनाउन राष्ट्रिय मनोविज्ञान, अठोट र संकल्प निर्माण गर्ने कुरामा दृढताका साथ लाग्ने उद्देश्य बोकेको उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ ।
दलित समुदायको हित अभिवृद्धि गर्न जातिय छुवाछुत, उत्पीडन एवम् विभेदको अन्त्य गरी समाज रुपान्तरणमा महत्वपुर्ण भूमिका निर्वाह गर्नका लागि नगरप्रमुख उद्दव प्रसाद खरेलले उँहालाइ बधाईका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।
अध्यक्ष र अन्य चार जना सदस्य रहने राष्ट्रिय दलित आयोग नेपालको संविधानको धारा २५५ मा व्यवस्थित संवैधानिक आयोग हो । यसले दलित समुदायको हित अभिवृद्धि गर्न जातिय छुवाछुत, उत्पीडन एवम् विभेदको अन्त्य गर्न पहल गर्छ । साथै दलितसँग सम्बन्धित उपयुक्त राष्ट्रिय नीति र कार्यक्रम तर्जुमा गरी कार्यान्वयनका लागि नेपाल सरकार समक्ष पेस गर्ने काम यस आयोगको हो । राष्ट्रिय दलित आयोगले दलित समुदायलाई मूल प्रवाहमा समाहित गर्ने सवालमा विद्यमान नीति र कार्यक्रमको समीक्षा गरी सोको प्रभावकारी कार्यान्वयनमा चासो र सरोकार राख्छ ।