बूढानीलकण्ठ, असार ११ गते । बूढानीलकण्ठ नगरपालिकाले प्राकृतिक विपत्तिमा परेको छिमेकि जिल्ला सिन्धुपाल्चोकमा सहयोग पठाएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा असार ०१ गते राति भीषण बाढीका कारण उक्त जिल्लाका मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका तथा पाँचपोखरी थाङ्गपाल गाउँपालिका लगायतका स्थानीय तहहरुमा हुन गएको क्षति प्रति नगरपालिकाले दुःख प्रकट गर्दै सहयोग स्वरुप नगद २५ लाख आर्थिक सहयोग पठाएको हो ।
नगर प्रमुख उद्दव प्रसाद खरेलका अनुसार “यस संकटको घडिमा सम्पुर्ण मेलम्ची हेलम्बु तथा पाँचपोखरी थाङ्गपाल बासीहरुलाई विपदबाट पर्न गएको क्षती सामना गर्दै पुनःस्थापना तथा पुनर्निमाण कार्यमा जुट्ने साहस मिलोस् भन्ने कामनाका साथ सबैलाई उद्दार र सहयोग कार्यमा जुट्न आग्रह गर्दै विस्थापित परिवारहरुको पुनर्स्थापना तथा संरचना पुनर्निमाणका लागि नगरपालिकाको तर्फबाट सहयोग प्रदान गरिएको हो” ।
अविरल बर्षाका कारण आएको बाढीले ईन्द्रावति र मेलम्चि नदी क्षेउका बजारहरुमा जन-धनको ठुलो क्षति भएको छ । यसको पुनःस्थापना र उद्दारका लागी देशका विभिन्न निकायबाट सहयोगहरु प्रदान भईरहेको अवस्थामा बूढानीलकण्ठ नगरपालिकाले पनी आफ्नो स्तरबाट सहयोग पुर्याउनु पर्ने कर्तव्यलाई मध्यनजर गर्दै नगरपालिका विपद व्यवस्थापन कोषबाट उक्त रकम प्रदान गरीएको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्किले जानकारी दिनुभयो ।
कुल रकम मध्य मेलम्चि नगरपालिकालाई १० लाख , हेलम्बु गाँउपालिकालाई १० लाख र पाँचपोखरी थाङ्पाल गाँउपालिकामा ५ लाख प्रदान गरीने गरी असार १० गते उक्त स्थानीय तहहरुमा चिठ्ठि पठाईएको प्रशासकिय अधिकृत जयराम गजुरेलले बताउँनुभयो ।