बूढानीलकण्ठ, असार १० गते ।  बूढानीलकण्ठ नगरपालिकाले असार ०९ गते आठौं बजेट बिधेयक प्रस्तावना प्रस्तुत गरेको छ । नगरपालिकाको आठौँ नगर सभा सुरु भए संगै नगरपालिकाको स्थापना पश्चात यो आठौं बजेट बिधेयक हो भने पछिल्लो स्थानीय तहको निर्वाचन पश्चात स्थापित नगरसभाले प्रस्तुत गरेको यो पाचौं बजेट हो ।

नगरपालिकाको आठौँ नगरसभाको बैठक बाट नगरकार्यपालिकाद्वारा तयार गरी आ.व २०७८\७९ को लागि पारित गरिएको अनुमानित आय रु. १ अरब ८२ करोड ९२ लाख ७६ हजार र अनुमानित व्यय तर्फ रु. १ अरब ८२ करोड ९२ लाख  ७६ हजार आगामी वर्षको लागि आम्दानी र खर्च गर्न स्वीकृत भएको विवरण प्रस्तुत भएको छ ।

निर्वाचन पश्चात २०७४ असार १० गते पहिलो नीति कार्यक्रम प्रस्तुत गरिएको थियो । बूढानीलकण्ठ स्थानीय तहको सभामा नगर उपप्रमुख रमा देवी राईले यस कार्यकालको अन्तिम बजेट प्रस्तुत गर्नु भएको हो  ।

“यस चार वर्षको अवधीमा बिभिन्न बाधा अवरोध, उतारचढाव, समस्या, कोभिड १९ को महामारीको बीचमा भए गरेका निर्णय र कारवाहीको सबै समक्ष पारदर्शी र खुलस्त छ” रमा देवी राईले सभा मार्फत भन्नुभयो “बिगतमा हामीले प्रस्तुत गरेका र कार्यान्वयन भएका चारवटा बजेटको कार्यान्वयन, प्रभावकारिता र उपलब्धीको समेत खुलेर छलफल गरी प्रस्तुत यस बजेटको बारेमा सकारात्मक रुपमा सल्लाह सुझाव दिई अघि बढाउन सम्पूर्ण जनप्रतिनिधी, नगरसभा सदस्य समक्ष अनुरोध छ” ।

चालु आ.व २०७७\७८ को बजेट पनि कोभिड महामारीको विषम परिस्थितिका बिचमा प्रस्तुत गरी पारित गरिएको थियो । यस आ.व. को नीति कार्यक्रम र बजेट अनुमान बिधेयक प्रस्तुत गर्दा आज पनि झण्डै लकडाउनको अवस्था रहेको छ । गत वर्षको अनुमानित आय व्ययमा कोभिड १९ को संक्रमणको कारण अपेक्षा गरे अनुसार लक्ष्य हासिल गर्न सकिने अवस्था नदेखिएको विवरणमा उल्लेखित छ ।

चालु आ.व २०७७\७८ को थुप्रै योजनाहरु कार्यान्वयनको चरणमा रहेको र लक्ष्य अनुसार आन्तरिक श्रोत पनि पुरा हुन बाधा पुगेको यस विषम परिस्थितिमा यो आय व्यय अनुमान प्रस्तुत भएको हो नगर प्रमुख उद्दव प्रसाद खरेलले बताँउनुभयो । चालु आ.व मा पुरा हुन नसकेका योजना र खर्चको जिम्मेवारी आगामी आ.व २०७८\७९ को लागि सार्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभएको छ ।

कुन-कुन क्षेत्रमा कति बजेट ?

बूढानीलकण्ठ नगरपालिकाको प्राथमिकता प्राप्त गौरवको योजना मध्य बूढानीलकण्ठ नगर अस्पताल, कपन ह्याण्डबल बहुउद्देश्यीय खेल पूर्वाधार योजना, बूढानीलकण्ठ तरकारी खरिदबिक्री भण्डार, विभिन्न वडा कार्यालय भवन निर्माण, उज्यालो बूढानीलकण्ठ कोशेली घर निर्माण, स्वास्थ्य चौकी भवन र महत्वपुर्ण सडक योजनाहरुमा आवश्यक वजेट व्यवस्था गरिएको छ ।

वडा कार्यालयहरुले छनौट गर्ने योजनामा केही महत्वपूर्ण कार्यान्वयन छिट्टै गर्ने र सम्भव प्राथमिकताका योजनामा थप रकमको व्यवस्था मिलाईएको छ । आन्तरिक सहलगानी कोषमा आवश्यक रकम व्यवस्था गरिएको छ । केन्द्र, प्रदेश सरकारसँग मिलेर गरिने समपुरक योजनाको लागि ५ करोड व्यय अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार, सामाजिक विकास क्षेत्र अन्तर्गत शिक्षा, स्वास्थ्य, मानवीय विकास अन्तर्गत महिला बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग, दलित, विपन्न क्षेत्रमा अधिकतम बजेट व्यवस्था मिलाईएको छ । कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामको लागि र आगामी दिनमा आउन सक्ने महामारीलाई ध्यानमा राखी स्वास्थ्य पूर्वाधारको व्यवस्था मिलाउन विशेष ध्यान पुर्याईनेछ ।

आर्थिक विकास अन्तर्गत महिला, युवा उद्यमशिलता, पूर्वाधार र रोजगार वृद्धि क्षेत्रमा सहयोगका लागि बजेट व्यवस्था गरिएको छ ।

आगामी बर्षको अनुमानित आय अन्तर्गत आन्तरिक श्रोतबाट रु २७ करोड ७५ लाख, बाह्य श्रोत बाट रु. ८० करोड ८८ लाख ४७ हजार, राजश्व बाँडफाँडबाट रु. ६० करोड ३६ लाख ५३ हजार गरी जम्मा रु. १ अर्ब ६९ करोड कायम गरिएको छ ।

त्यस्तै अनुमानित ब्यय तर्फ चालु खर्चको लागि २६ करोड र वडाबाट योजना छनौट गर्न ४० करोड ९५ लाख विनियोजन गरिएको छ ।

चालु आ.व मा टेण्डर भएका तर बजेट पुरा नभई बहुबर्षे योजनाको लागि नगर अस्पताल, कपन ह्याण्डबल, थोक कृषि बजार, वडा नं. ९ को सामुदायिक भवन रुद्रेश्वर महादेव खोला जोड्ने सडक कालोपत्रे, ईटालीटार सडक पिच र केही सडकहरुको बजेट भुक्तानीको लागि आवश्यक रकम छुट्याईएको छ ।

विषयगत शाखा क्षेत्रका खर्चको लागि ७ करोड १० लाख विनियोजन गरिएको छ । विविध नगरस्तरीय योजनाहरुको लागि रु. १३ करोड बिनियोजन गरिएको छ ।

आ.व २०७८।०७९ को लागि विषयगत क्षेत्रहरुको हकमा जम्मा रु. ३५ करोड, ५ लाख ४३ हजार ५ सय रकम मध्ये पूर्वाधार विकासमा ४० प्रतिशत, खानेपानीमा १५ प्रतिशत, बन, बातावरण, फोहोरमैला तथा विपद व्यवस्थापनमा १० प्रतिशत, सामाजिक विकासमा २० प्रतिशत, आर्थिक विकासमा १० प्रतिशत र शुसासन तथा संस्थागत विकासमा ५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय