बूढानीलकण्ठ, जेष्ठ २१ । बूढानीलकण्ठ नगरपालिकामा कोरोना संक्रमित संख्यामा केहि परिवर्तन देखिएको छ । पछिल्लो एक साता देखि संक्रमण संख्या घट्दो क्रममा रहेको पाईएको छ ।
जेष्ठ २० गते (बिहिबार) मात्र ३८ जनामा कोरोना संक्रमण देखिएको र १३ जना संक्रमण मुक्त भएर घर फर्किएको नगरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ ।
यो दर पछिल्लो हफ्ताको तुलनामा निकै फरक रहेको जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहालले बताउनुभयो । “यस्तै अवस्था रहि रह्यो भने नगरपालिकालाई संक्रमणमुक्त बनाउन निकै सहज हुने छ” उहाँले जोड्नुभयो ” नगरपालिका अझै सतर्क भई यसको नियण्त्रण र रोकथामको प्रकृयामा निरन्तर लागि परिरहेको छ” ।
थपिएका संक्रमित सहित नगरपालिकामा कुल संक्रमित संख्या २,०८९ पुगेको छ । जसमध्य ७८.८९ प्रतिशत अर्थात १,६४० जना कोरोना मुक्त भइसकेका छन् ।
हाल नगरपालिकामा (१९६ जना महिला र २२७ जना पुरुष) ४२३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये ३९५ जना सेल्फ होम आइसोलेसनमा र बाँकि २८ जना विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रहरुमा उपचाररत छन् ।
पछिल्लो ३६ घण्टामा थप एकको मृत्यु भएको छ । वडा नं ११ का एक ४३ वर्षिया एक महिलाको उपचारका क्रममा करुणा अस्पतालमा जेष्ठ १६ गतेको मृत्यु भएको हो। हालसम्मको मृत्यु हुने दर ०.८६ अर्थात कुल संख्या १८ पुगेको छ ।